यसरी स्वरुप परिर्वतन गर्दै ‘एम्बेसडर’ कार

काठमाडौं । एम्बेसडर कारको पारखीहरुले पुनः अत्याधुनिक कारको मज्जा लिन सक्ने छन् । कम्पनीले सन् २०२० को अन्त्यसम्म, यो कारलाई पुनः निर्माण गर्दै बजारमा ल्याउन लागेको हो ।

सन् १९५८ देखि भारतका ठूला राजनेता, नेता, उद्योगपति र सरकारको समेत सबैभन्दा लोकप्रिय बनेको यो कार सन् २०१४ मा आईपुग्दा बिक्न छाडेर बन्द गरिएको थियो । तर, अहिले यसको उत्पादन फेरि सुरु हुँदैछ ।

हिन्दुस्तान मोटर कम्पनीले पहिलो ‘मेड इन इन्डिया’ एम्बेसडर कारकोे उत्पादन  कोलकातामा गरेको थियो । यसको आकार–प्रकार, आरामदायक सिट र कुनै पनि सडकमा गुड्न सक्ने क्षमताका कारण यो कार सबैको लोकप्रिय कार बनेको थियो । 

भारतमा कोलकाता स्थित हिन्दुस्तान मोटर कम्पनीले तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूलाई कालो रंगको पहिलो एम्बेसडर कार प्रदान गरेको थियो । कालान्तरमा यो कार सरकारी अधिकारीहरुले मात्रै चढ्ने सवारीसाधन बनेको थियो ।

यस एम्बेसडर कारको इन्जिन ७ पटकसम्म परिवर्तन गरिएको थियो । तर, यसको डिजाइन, आकार र फिचरमा भने कुनै परिवर्तन गरिएन । भारतमा विदेशी कारहरुको उत्कृष्ट मोडेल आउन थालेपछि मानिसहरुको रुची एम्बेसडर कारमा कम हुन थाल्यो । यही कारण यो कारको उत्पादनसमेत बन्द भयो । 

एम्बेसडर कार निर्माता सीके बिरला ग्रुप र फ्रेन्च कम्पनी पीएसए ग्रुपले यसलाई फेरी संयुक्त लगानीमा निर्माण गर्दै छन् । पीएसए चर्चित कार प्यूजोको निर्माता कम्पनी हो । 

यि दुवै कम्पनीले एम्बेसडर कारलाई एक नयाँ रूपमा लन्च गर्नेछन् । यसका अलावा कम्पनीले ह्याचब्याक र एसयूभीसमेत ल्याउने जनाएको छ । हाल, सीके बिरला ग्रुपले एम्बेसडर कार प्लान्टमा ७०० करोड रुपैयाँ लगानी गरेको छ ।

निकै आर्कषक र बोल्ड डिजाइनमा निर्माण हुने एम्बेस्डरको अबको यात्रा निकै रोचक हुने अनुमान लगाउन सकिन्छ । 


Back_to_top