के अन्तर्राष्ट्रिय उडानमा बुद्ध एयरले मार्ला छलाङ्ग ?

काठमाडौं । बुद्ध एयरले नेपालगन्जबाट दिल्ली उडान गर्ने भएको छ । एयरले एटिआर ७२ जहाज मार्फत नेपालगन्ज–दिल्ली दैनिक तीन उडान गर्ने घोषणा गरेको हो । हाल बनारसमा चार्टर उडान गरिरहेको बुद्धले अन्तर्राष्ट्रिय उडानमा अव आक्रामक रणनीतिका साथ अगाडी बढ्ने घोषणा गरेको हो । ‘हामीले नेपालगन्ज–दिल्ली उडानको लागि प्रक्रिया अगाडी बढाएका छौ,’ बुद्ध एयरका प्रवन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले भने । 

केही दिन अगाडी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले विराटनगर, नेपालगन्ज र धनगढीबाट सिधा दिल्ली उडानको लागि प्रक्रिया अगाडी बढेको र सोही अनुसार विमानस्थलको सुधार गर्न निर्देशन दिएका थिए । 

मन्त्रीले घोषणा गरेको ७२ घन्टा पनि वित्न नपाउँदै बुद्ध एयरले नेपालगन्ज–दिल्ली उडान थाल्ने जनाएको हो । उक्त रुटमा सिधा उडान गर्न सकेमा मानसरोवर जाने भारतीय तिर्थयात्रीहरु सिधै नेपालगञ्ज आउने दावीसमेत बस्नेतको छ ।

‘सोमबारबाट भारतसँग अनुमतिको लागि प्रक्रिया अगाडी बढ्ने र अनुमति पाउने वित्तिकै उडान थाल्ने छौ,’ बस्नेतले भने । 

२२ वर्ष अगाडी स्थापना भएको बुद्ध एयरले आन्तरिक उडानमा राम्रो सेवा दिदैं आएको छ । चार वर्ष अगाडी अन्तर्राष्ट्रिय उडानको अनुमति लिएर बनारस उडान सुरु गरेको बुद्धले अव भने आक्रमक रुपमा अन्तर्राष्ट्रिय उडान थाल्ने घोषणा गरेको हो । 

बुद्धसँग हाल १० वटा विमानहरु रहेका छन् । जसमा एटिआर ७२–५०० सिरिजको ५ थान, एटिआर ४२–३०० सिरिजको ३ थान र १८ सिट क्षमतका बिचक्राफ्ट २ थान विमान रहेका छन् । 

सन् २०२१ सम्म तीनवटा ठुला जहाज मार्फत अन्तर्राष्ट्रिय उडान

बुद्ध एयरले सन् २०२१ सम्म तीन थान ठुला न्यारोवडी जहाज मार्फत अन्तर्राष्ट्रिय उडान थाल्ने समेत घोषणा गरेको छ । हामीले पोखरा विमानस्थलबाट थाल्ने सोच रोखेको थियौ तर, उक्त विमानस्थल २०२१ मा संचालनमा नआएमा काठमाडौंबाट उडान थाल्ने बस्नेतले जानकारी दिए । अहिले एयरवस र बोइङ मध्ये कुन जहाज किन्ने भन्नेमा छलफल चलिरहेको र सन् २०१९ सम्ममा जहाज खरिदको टुंगो लाग्नेसमेत बस्नेतले घोषणा गरेका छन् । 


Back_to_top