एम्पियरको नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक, नेपाल पनि आउने

काठमाडौं । भारतीय दुई पाङग्रे इलेक्ट्रीक स्टार्टअप कम्पनी एम्पियरले नयाँ ‘एम्पियर म्याग्नस नियो’ स्कुटर सार्वजनिक गरेको छ ।

कम्पनीले भारतीय बजारमा एम्पियर म्याग्नस नियो इलेक्ट्रीक स्कुटरको मूल्य ७९ हजार ९९९ रुपैयाँ (एक्स शोरुम) तोकेर सार्वजनिक गरेको हो ।

यो स्कुटरमा २.३ किलोवाट आवरको एलएफपी (लिथियम आइरन फस्फेट) ब्याट्रीप्याक दिइएको छ । यो ब्याट्री फुलचार्ज हुनका लागि करिब ६ घण्टाको समय लाग्छ । एकपटकको फुल चार्जमा यसले ७० देखि ८० किलोमिटर सम्मको रेन्ज दिने कम्पनीको दाबी छ । यसको टप स्पीड ६५ किलोमिटर प्रतिघण्टा रहेको छ ।

फ्यामिली स्कुटर डिजाइनमा तयार भएको म्याग्नस नियो इलेक्ट्रीक स्कुटरमा तीन राइडमोड र एक रिभर्स मोड उपलब्ध छ । यस स्कुटरमा फुल एलइडी लाइट र यूएसबी चार्जिङ पोर्ट दिइएको छ भने स्मार्टफोन कनेक्टिभिटीका साथ एलसीडी इन्स्ट्रुमेन्ट कन्सोल जस्ता फिचर पाउन सकिन्छ ।

साथै, म्याग्नस नियोमा टेलिस्कोपिक फोर्क र डबल सक अब्जर्बार, १२ इन्चको अलोय ह्वील, ट्युबलेस टायर र सीबीएस सहितको दुवै टायरमा ड्रम ब्रेक रहेको छ ।

कम्पनीले म्याग्नस नियोमा ५ वर्ष वा ७५ हजार किलोमिटर ब्याट्री वारेन्टी समेत दिने जनाएको छ ।

नेपाली बजारमा भने म्याग्नस भित्रने क्रममा रहेको कम्पनीले जनाएको छ । नेपालमा केडिया अर्गनाइजेसनले नेपालमा एम्पियर स्कुटरको बिक्री वितरण गरिरहेको छ । कम्पनीले छिट्टै नै म्याग्नस स्कुटर सार्वजनिक गर्दैछ भने म्याग्नस निओ केही समयपछि नेपालमा सार्वजनिक गर्नेछ ।


Back_to_top