काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोण सकारात्मक हुनुपर्ने बताएका छन् ।
मंगलबार नाडा अटो शो २०२६ को अवसरमा बोल्दै उनले गत वर्ष झण्डै १०६ अर्बको आयात र ८१/८२ अर्ब राजस्व योगदान पुर्याएको अटोमोबाइल क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोण सकारात्मक हुनुपर्ने बताएका हुन् ।
अटोमोबाइल क्षेत्रलाई केवल उपभोग्य वस्तु नभई राजस्व र रोजगारीको मुख्य आधारको रूपमा लिनुपर्ने उनको भनाइ छ।
श्रेष्ठले भारी मात्रामा हुने सवारी साधन र स्पेयर पार्ट्सको आयातलाई घटाएर देशभित्रै सेम्बलिङ तथा कन्ट्र्याक्ट म्यानुफ्याक्चरिङमार्फत उद्योग स्थापना र प्रवर्धन गरिनुपर्ने बताए।
उनले सुस्त बजार, कमजोर माग र खस्किँदो व्यावसायिक मनोबलका कारण मुलुकको अर्थतन्त्र गम्भीर चुनौतीबाट गुज्रिरहेको बताएका छन्।
उनले आफ्ना ३६ वर्षको व्यावसायिक यात्रामा यस्तो कठिन समय कहिल्यै नदेखेको बताए। सरकारले बजेटमार्फत उच्च आर्थिक वृद्धि, प्रतिव्यक्ति आय वृद्धि र लाखौं रोजगारी सिर्जना गर्ने जस्ता ठूला लक्ष्य घोषणा गरे पनि स्पष्ट रणनीति, ठोस नीति र कार्ययोजनाको अभाव रहेको श्रेष्ठको भनाइ छ।
‘केवल भाषण र घोषणामा सीमित नभई देशको अर्थतन्त्रलाई गति दिन समग्र पुनर्संरचना आवश्यक छ,’ उनले भने।
उनले बन्द भएका पुराना उद्योगहरू सञ्चालन गर्ने सोच राम्रो भए पनि हाल चुनौतीपूर्ण अवस्थामा चलिरहेको बताए । ‘बन्द भएका पुराना उद्योगहरू सञ्चालन गर्ने सोच राम्रो भए पनि हाल चुनौतीपूर्ण अवस्थामा चलिरहेका र नयाँ सञ्चालित आन्तरिक उद्योगहरूलाई नडुबाउनेतर्फ सरकार सचेत हुनुपर्छ। भुइँको टिप्दा पोल्टाको खस्ला,’ उनले भने।
श्रेष्ठका अनुसार देशमा बढ्दो युवा पलायन रोक्न र १० वर्षभित्र गुम्ने जोखिममा रहेको ‘जनसांख्यिक लाभ’को उपयोग गर्न देशभित्रै रोजगारी र वास्तविक ज्याला बढाउनुपर्छ।
महासंघ सरकारले लिएको १०० अर्ब डलरको अर्थतन्त्र र १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य हासिल गर्न पूर्ण रूपमा सहकार्य गर्न तयार रहेको बताउँदै उनले निजी क्षेत्रको भावना अनुसार नीतिगत सुधार गर्न सरकारसँग आग्रह गरे।

