काठमाडौं । सन् २०२६ लागेदेखि ओरालो लागेको चिनियाँ अटो बजार अझै सुस्त देखिएको छ । अप्रिल महिनामा पनि मिश्रित देखिएको छ ।
चिनियाँ स्टार्टअप कम्पनीहरूले आफ्नो बिक्री बढाउँदा ठूला कम्पनीहरूको भने घट्दो नै छ । यद्यपि, मार्चको तुलनामा अप्रिलमा केही सुधार देखिएको छ ।
विश्वकै ठूलो बीवाइडीले अप्रिलमा ३ लाख २१ हजार १२३ युनिट कार बिक्री गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १५.५१ प्रतिशत कम हो । यो बीवाइडीको लगातार आठौं महिना गिरावट हो । मार्चको तुलनामा भने बीवाडीको बिक्री अप्रिलमा ६.९६ प्रतिशत धेरै हो ।
बीवाइडीको कुल बिक्री घटे पनि निर्यातमा भने उछाल आएको छ । कम्पनीले अप्रिलमा १ लाख ३४ हजार निर्यात गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ७०.९ प्रतिशत धेरै हो ।
जिली अटोको बिक्रीमा झिनो सुधार देखिएको छ । जिलीले अप्रिलमा २ लाख ३५ हजार १६४ युनिट सवारी बिक्री गरेको छ । यो गत वर्षको तुलनामा ०.४५ प्रतिशतको वृद्धि हो । जिलीको निर्यातमा रेकर्ड कायम गरेको छ । गत वर्षको तुलनामा निर्यात २४४.७० प्रतिशतले बढेर ८३ हजार १८६ युनिट पुगेको छ ।
अप्रिलमा चेरी अटोमोबाइलले २ लाख ५१ हजार ३८६ युनिट कार बिक्री गरेको छ । निओले अप्रिलमा कुल २९ हजार ३५६ युनिट कार डेलिभरी गरेको छ । जुन गत वर्षको तुलनामा २२.८३ प्रतिशत धेरै हो । यद्यपि, मार्चको तुुलनामा १७.२७ प्रतिशत कम हो ।
एक्सपेङले अप्रिलमा कुल ३१ हजार ११ युनिट गाडी बेचेको छ । यो गत वर्षको तुलनामा ११.५१ प्रतिशतले कम हो । तर गिरावटको दर कम हुँदै गएको छ । मार्चको तुलनामा अप्रिलमा एक्सपेङको बिक्री १३.१२ प्रतिशतले बढेको छ । स्मार्ट ड्राइभिङ प्रविधि एक्सपेङको बिक्री वृद्धिको प्रमुख कारक बनिरहेको छ ।
ली अटोले अप्रिलमा ३४ हजार ८५ युनिट गाडी बिक्री गरेको छ । यो गत वर्षको तुलनामा ०.४३ प्रतिशतको सामान्य वृद्धि हो । तर मार्चको तुलनामा अप्रिलमा बिक्री १६.९७ प्रतिशतले घटेको छ । ली अटोले सन् २०२६ को चार महिनामा १ लाख २९ हजार २२७ गाडीहरू डेलिभरी गरेको छ ।
स्टार्टअप लीपमोटरले भने छलाङ मारेको छ । कम्पनीको अप्रिलमा कार बिक्री ७३.९५ प्रतिशत बढेर ७१ हजार ३८७ युनिट पुगेको छ । मार्चको तुलनामा पनि सवारी बिक्री ४२.६९ प्रतिशतले बढेको छ ।
लीपमोटरको यो रेकर्ड नयाँ मोडलहरूको सार्वजनिक र उत्पादन क्षमताको वृद्धिका कारण सम्भव भएको हो । अप्रिल १६ मा सार्वजनिक भएको फ्ल्यागशिप एसयूभी डी १९ ले पहिलो १५ दिनमै १५ हजारभन्दा बढी अर्डरहरू पाएको छ ।
जिलीको प्रिमियम इलेक्ट्रीक ब्राण्ड जिकरले अप्रिलमा ३१ हजार ७८७ युनिट सवारी बेचेको छ । यो गत वर्षको तुलनामा १३१.५७ प्रतिशतको वृद्धि हो ।
चाङ्गन अटोमोबाइलको इलेक्ट्रीक युनिट दीपलले अप्रिलमा ३३ हजार १८७ युनिटको विश्वव्यापी बिक्री हासिल गरेको छ ।


