दाउन्ने पूर्वी खण्डमा एकतर्फी ढलान सकियो

काठमाडौं । नारायणगढ-बुटवल सडक अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा एकतर्फी ढलानको काम सकिएको छ ।

६५ किलोमिटर लामो पूर्वीखण्ड अन्तर्गत दाउन्ने क्षेत्रको ३.९ किलोमिटर सडकमा ढलान गरिँदै छ । जसमा दुम्कीबास र बर्दघाट बीचमा पर्ने एकातर्फी सडकको पूरै भागमा ढलान गर्ने काम सकिएको आयोजनाले जनाएको हो ।

नारायणगढ बुटवल सडक आयोजनाका अनुसार ढलान सकिएको क्षेत्रमा दुई सातापछि यातायात संचालन गर्न मिल्नेछ । दाउन्नेको १४ किलोमिटर सडक मध्ये प्रायःजसो पानी रसाउने स्थानमा ढलान सडक निर्माण गरिँदै छ । जसमा पूवीखण्डमा ४ र पश्चिमखण्डमा १० किमी रहेको छ ।

६५ किमी लामो पूर्वी खण्डमा दाउन्ने बाहेक क्षेत्रमा भने कालोपत्र सम्पन्न भइसकेको छ । कालोपत्र सकिएको क्षेत्रमा रङरोगन, सडक सुरक्षा, रेलिङ राख्ने लगायत काम भइरहेको पूर्वीखण्डका इन्जिनियर शिव खनालले बताए

उनका अनुसार हाल सडकमा सेतो र पहेँलो चिह्न बनाउने, बीचको डिभाइडरमा रङ लगाउने, मुख्य सडक, सहायक सडकबीच सिमेन्ट बार राख्ने तथा स्पिड लिमिटका चिह्नहरू जडान गर्ने काम भइरहेको छ । साथै, सडक छेउमा रेलिङ लगाउने, डब्लु–बिम राख्ने र डेलिनेटर पोल जडान गर्ने काम पनि जारी रहेको उनले बताए ।

त्यस्तै, दाउन्नेका पश्चिम खण्डमा पर्ने १० किलोमिटर सडकमा पनि धमाधम ढलान भइरहेको छ । अब करिब २०० मिटर सडक ढलान गर्न बाँकी छ । उक्त सडक पनि अबको १५ दिनमा ढलान भइसक्ने त्यस खण्डका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए । असार अगावै दुवै खण्डमा ढलान सक्ने लक्ष्य राखिएको छ ।

११४ किलोमिटर लामो नारायणगढ बुटवल सडक दाउन्ने बाहेक क्षेत्रमा अन्यत्र ४ र सहरी क्षेत्रमा ६ लेनमा विस्तार भइरहेको छ । दाउन्ने क्षेत्रमा भने ३ लेनमा निर्माण भइरहेको छ ।

नारायणगढ बुटवल सडकको दुवै खण्डको ठेक्का चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले पाएको छ । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम २०७५ साल माघ २४ गते सम्झौता भई २०७९ साउन २२ गते सम्पन्न गर्ने लक्ष्यका साथ चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले सुरु गरेको थियो ।

निर्धारित समयमा काम सम्पन्न नभएपछि चौथोपटक म्याद थपिएको म्याद आगामी साउन मसान्तसम्म छ । यो सडकको कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ रहेको छ ।


Back_to_top