बढ्दै स्पीड लिमिट, कुन हाइवेमा कतिमा कुदाउन पाइन्छ ?

काठमाडौं । देशमा हाइवे (राजमार्ग) निर्माणको काम तीव्र गतिमा अगाडि बढ्दैछ । देशकै पहिलो फस्ट ट्रयाक निर्माण तीव्रताका साथ चल्दैछ । फस्ट ट्रयाक अन्तर्गत विभिन्न खण्डमा अहिले सडक कालोपत्र गर्ने काम चलिरहेको छ ।

नागढुङ्गादेखि मुग्लिनसम्मको सडक विस्तारको काम भइरहेको छ । आँबुखैरहनीदेखि पोखरासम्मको सडक विस्तार अन्तिम चरणमा छ । पोखरा जाने हाइवेमा अहिले सडक मार्किङको काम चलिरहेको छ । पूर्व-पश्चिम राजमार्ग पनि चार लेनमा स्तरोन्नति चल्दैछ ।

उत्तर र दक्षिण जोड्ने राजमार्गहरू पनि निर्माणकै क्रममा छन् । नयाँ बाटाहरू निर्माण सम्पन्न हुने चरणमा प्रवेश गर्दा गाडीहरूको स्पीड लिमिट पनि बढाउने गृहकार्य चल्दै आएको छ ।

एशियन स्टायण्डर्डको हाइवेहरूको स्पीड लिमिट प्रतिघण्टा ३० किलोमिटरदेखि १२० किलोमिटरसम्म निर्धारण गरिएको छ । त्यही बराबरको स्पीड थेग्न सक्ने बाटाहरू हाम्रोमा पनि बनाउनु पर्छ भन्ने विषयमा प्राविधिकहरू सचेत छन् । तर, पहाडी र घुमाउरा बाटाहरू धेरै भएको कारण नेपालमा स्पीड लिमिट केही कम नै गर्नु पर्ने हुन्छ ।

नयाँ हाइवे बनेपछि स्पीड लिमिट बढ्ने

अहिले निर्माण भएका हाइवेमा स्पीड बढ्ने संकेतहरू मिल्न थालेका छन् । सरकारले काठमाडौं-निजगढ फास्ट ट्रयाकमा १०० किलोमिटरसम्म प्रतिघण्टाको स्पीड कायम गर्ने पक्का छ । त्यसैगरी पूर्व-पश्चिम हाइवे पनि स्तरोन्नतिपछि ८० किलोमिटरसम्मको स्पीडमा गाडी चलाउन दिने जनाएको छ ।

अहिले हाम्रो पूर्व पश्चिम हाइवेमा अधिकतम गति ६० किलोमिटर प्रतिघण्टा कायम गरिएको छ । नयाँ मापदण्ड अनुसार बाटोको अवस्था हेरेर ८० किलोमिटर प्रतिघण्टासम्मको स्पीडमा गाडी चलाउन पाइने बनाउन लागिएको हो ।

नेपालको मोटर, भेहिकल र ट्रान्सपोर्ट मेनेजमेन्ट नीति अनुसार कार/जीप/भ्यानको अधिकतम गति ८० किलोमिटर प्रतिघण्टा तोकिएको छ । बस र ट्रकको सवालमा पहाडमा ५० र तराइमा ७० किलोमिटर प्रतिघण्टासम्मको स्पीडमा चलाउन पाइन्छ ।

मोटरसाइकलको लागि ५० किलोमिटर प्रतिघण्टाको स्पीड तोकिएको छ । संसारभर हाइवेमा कतै साना मोटरसाइकल चलाउन पाइन्न । नेपालमा चलाउन पाइन्छ । तोकिएको ५० किलोमिटर प्रतिघण्टाको टप स्पीड चालकहरू मान्दै मान्दैनन् ।

सहरी क्षेत्र र घना बस्ती भएको ठाउँहरूमा बाटोको अवस्था अनुसार अधिकतम ३० देखि ४० किलोमिटर प्रतिघण्टाको स्पीडमा गाडी चलाउन दिइएको छ ।

हाम्रा पहाडी जिल्लाका हाइवेहरूमा ४० किलोमिटरको स्पीड लिमिट तोकिएको छ । जुन ढलान गरिएको बाटाहरूको लागि पनि लागू हुन्छ । बीपी राजमार्गको स्पीड लिमिट २० देखि ४० किलोमिटर प्रतिघण्टासम्म तोकिएको छ ।

देशकै लामो मध्येको एक मदन भण्डारी राजमार्गको स्पीड लिमिट तोकिएको छैन । तर, धेरैखण्डहरूमा ४० देखि ६० किलोमिटर प्रतिघण्टाको साइनेजहरू राखिएको छ ।

मधेसको समथर भूभागलाई जोड्ने हुलाकी राजमार्गको टप स्पीड पनि ५० किलोमिटर प्रतिघण्टा मात्रै तोकिएको छ ।


Back_to_top