काठमाडौं । नेपालका लागी अप्रिलिया को आधिकारीक बितरक डी लाइफस्टाइलले दुइ नयाँ बाइक सार्वजनिक गरेको छ । कम्पनीले एसआर १२५ र एसएक्स १२५ नेपाली बजारमा ल्याएको हो । हालसम्म नेपाली बजारमा अप्रिलियको स्कुटर मात्र बिक्रि गर्दै आएको कम्पनीले अब यी दुई डर्ट बाइक भित्र्याएको हो ।
१२५ सीसी सिंगल सिलिन्डर फोर स्टोक इन्जिन दिइएको यी दुबै बाइकमा १७ इन्चको स्पोक ह्वील दिइएको छ । दुबै बाइकमा अगाडिको चक्कामा ३०० एमएमको डिस्क ब्रेक दिइएको छ भने, पछाडिको चक्कामा २२० एमएमको डिस ब्रेक दिइएको छ ।
कम्पनीले यी दुबै अफरोड बाइक नेपाली बाटो सुहाउँदो रहेको जनाएको छ । जसमा आरएक्स १२५ पूर्ण अफरोड राइडिङलाई ध्यानमा राखेर बनाइएको हो भने, एसएक्स १२५ अफरोड र अनरोड दुबैमा उत्कृष्ट पर्फमेन्स गर्ने कम्पनीको दाबी छ ।
सुरक्षालाई मध्यनजर गर्दै दुबै बाइकमा कम्पनीले डियुल च्यानल एबीएस, ट्याक्सन कन्ट्रोलजस्ता फिचरहरु दिइएको छ । यसमा दिइएको इन्जिनले १० हजार ५०० आरपीएममा १५ बिएचपी पावर र ८ हजार २५० आरपीएममा १०।९० एनएम टर्क जेनेरेट गर्छ ।
अप्रिलिया एसएक्सको कुल तौल १३५ केजी रहेको छ भने, यसमा ५ लिटर क्षमताको फियुल ट्याङ्की दिइएको छ । कम्पनीको अनुसार यो बाइकले एक लिटर पेट्रोलमा २५ किलोमिटर माइलेज प्रदान गर्नेछ ।
बाइकको उच्च गति क्षमता ११५ किलोमिटर प्रतिघन्टा रहेको छ भने यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।
त्यसैगरी आरएक्स मोडलको सबै फिचर एसएक्सको जस्तै रहेपनि यसको तौल भने करिब १५ केजी कम रहेको छ । यसको कुल तौल १२० किलोग्राम रहेको छ ।
कम्पनीले दुबै मोडलको मूल्यसमेत समान राखेको छ । आजबाट आधिकारीक रुपमा नेपाली बजारमा बिक्री वितरण सुरुहुने उक्त बाइकको मूल्य ७ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ ।
