मोटरसाइकलमा लगाइएको सडक कर मजाक होइन अर्थमन्त्री ज्यू ?

अर्थतन्त्र बुझेका, मौद्रिक नीतिलाई नजिकबाट केलाउन सक्ने र दक्षिण एसियामा नै नामचलेका अर्थशास्त्रीलाई अर्थमन्त्रीको रुपमा पाउँदा कम्ति खुसी लागेको थिएन । लाग्थ्यो दुइतिहाई हाराहरीको बहुमत प्राप्त सरकारका शक्तिशाली अर्थशास्त्री अर्थमन्त्रीले ल्याएको बजेटमार्फत देशले ५ वर्षमा काँचुली फेर्ने बाटो देखाउने अपेक्षा थियो । त्यसमा पनि प्रधानमन्त्रीका अतिनै विस्वासपात्र र बामगठबन्धनको घोषणा पत्रका प्रमुख योजनाकार मध्येका एक रहेका उनले १ घन्टा २० मिनेट लामो संसदमा गरेको भाषण सुनिसकेपछि मैले निकालेको निकर्षः यो बजेट इतिहासकै सबैभन्दा निरस मध्यकाे एक बजेट हो ।

बजेटले १२ सय सीसीभन्दा माथिका कारहरुमा लगाएको करमा कुनै गुनासो छैन तर, आवश्यकताको रुपमा प्रयोग हुने मध्यम क्षमताकै सवारीमा अन्तःशुल्क थोपरेर समृद्धिको मजाक तपार्इबाट होला भन्ने लागेको थिएन ।

यो बजेटले न नागरिकमा उत्साह ल्याउने कुनै काम गरेको छ, नत निजी क्षेत्र वा कर्मचारी तन्त्र कसैलाई उत्साहित हुनैपर्ने कुनै कुरा दिएको छ । न त पुनर्निर्माण होस् वा पूर्वाधार विकासमा नयाँ मोडालिटी यस बजेटमा पाइन्छ । पुरानै कार्यशैली र परम्पराको निरन्तरता बाहेक केहि छैन । छ त केवल केही सपनाका पोका, केही राज्यसंचालनको लागि थोपरिएको कर । केही क्षेत्रको विकासमा दिदै आएको कर छुट अब बन्द भएका छन् भने मानिसको जीवन सहज, उत्पादकत्व वृद्धि र अवाजजावतको साधनमा अर्थमन्त्री ज्यूले ठुलै मजाक गरेका छन् । 

यो पनी पढ्नुस्ः सडक प्रयोग वापतको करमा अत्याधिक वृद्धि (सूचिसहित)

सिन्डिकेटको जालो मिल्काउन प्रयासरत सरकारले सार्वजनिक यातायातको भरपर्दो ब्यवस्था बिना सवारीसाधनमा अन्धाधुन्दा कर थोपरेको छ । यसले नागरिकको उत्पादकत्व कसरी बढाउँछ ? अर्थमन्त्री ज्यू तपाईले मासिक ८० हजार कमाएर त्यसलाई एक लाख पुर्याउन चाहने युवालाई प्रोत्साहन गर्नुपर्नेमा निरुत्साहन गर्नु भएको होइन ? नत्र ट्याक्सीको रुपमा संचालन भइरहेका गाडी बाहेक अन्य गाडीको अन्तःशुल्कमा ब्यापक वृद्धि किन ? 

नेपाली बजारमा एक हजारदेखि १२ सय सीसी क्षमतासम्मका सवारी साधन सबैभन्दा बढी बिक्री हुने गरेका छन् । यस्तोमा तपाईले थप्नुभएको अन्तशुल्कले करिब ६ प्रतिशतले त्यस्ता गाडी महंगो हुने छन् । यस्तै दुई हजार सीसीसम्मका कारमा सडम मर्मत दस्तुर ८ प्रतिशत पुर्याइएको छ । यस अघि जुन ७ प्रतिशत थियो । यदि तपाईले बजेटमार्फत कारहरुलाई आवस्यकताका साधनको रुपमा लिनुभएको थियो भने कम्तिमा १२ सय सीसीसम्मका सवारी साधनलाई एउटा समुहमा राख्नु पथ्र्यो । अझ विलाशी सवारी कै कुरा गर्ने हो भने १५ सय सीसीका कारमा मात्र अन्तशुल्क कढाउनु उपयुक्त हुने थियो । आवश्यकताको रुपमा प्रयोग हुने मध्यम क्षमताकै सवारीमा अन्तशुल्क थोपरेर समृद्धिको मजाक तपाइबाट होला भन्ने लागेको थिएन । तर, तपाई जनताको आवस्यकता भन्दा राज्यको ढुकुटीमा कसरी जनताको पैसा ल्याउन सकिन्छ भन्नेतर्फ मात्रै केन्द्रित हुनुभयो । त्यो स्वभाविक पनि हो किन कि तपाई आफै मौद्रिक अर्थशास्त्री हुनुहुन्छ र अर्थमन्त्री पनि । 

दुइबटा मास्क, धुलो छेक्ने चस्मा, दिउँसै घाम लागेको समयमा रेनकोट ओडेर, कुन खाल्टामा परेर अङ्गभङ्ग हुने हो भन्ने डरमा मोटरसाइकल चलाएर हिड्ने बाटोमा किन यति धेरै सडक कर ? यी र यस्ता प्रश्न हरेक नागरिकले उठाइरहेका छन् ।

बजेटले १२ सय सीसीभन्दा माथिका कारहरुमा लगाएको करमा कुनै गुनासो छैन । किन भने यी कार केहि ठूला छन्, पैसा धेरै कमाउनेको पहुँचमा नै यो कार पुग्ने हो तर, तपाईले १ हजार सीसीको बेन्चमार्क राखेर जनतालाई सुविधा होइन सरकार संचालनको लागि रकम जोही गर्न खोज्नु भएको प्रस्ट देखिन्छ । जनतासँग कर लिने भन्सार बिन्दु बाहेक अन्य ठाँउ पनि छन् तर, पुराना अर्थमन्त्रीभन्दा दुई कदम अगाडि बढेर तपाईले भन्सार नै राजस्व संकलनको उत्तम विकल्प भन्ने सोच्नु भयो । अर्थमन्त्री ज्यू । यदि सकिन्छ भने यसलाई १ हजारबाट बढाएर १२ सय सीसीको एउटा सिलिङ बनाउनु उत्तम हुन्छ ।    

यो पनी पढ्नुस्ः कति सीसीको कारको मूल्य कति बढ्छ, सूचिसहित

अर्थमन्त्री ज्यू । सडक दस्तुरको नाममा तपाईले ठुलै मजाक गर्नुभयो । त्यो पनि विषेश गरेर मोटरसाइकलमा । एउटा मोटरसाइकलमा कम्तिमा १० हजार र बढीमा २० हजारसम्म लाग्दै आएको सडक दस्तुरलाई बढाएर १५ हजारदेखि २ लाख रुपैयाँसम्म पुर्याउदा त्यसको प्रयोगकर्ता मारमा परेका छैनन् ? सडक मर्मत दस्तुरको नाममा अहिले पनि वार्षिक अर्बौ रुपैयाँ उठ्दै आएको छ । व्यवसायीहरुले जुन शिर्षकमा कर उठेको हो त्यही शिर्षकमा खर्च गरौं भन्दै आएका छन् । तर उनीहरुको कुरा न विगतका अर्थमन्त्रीहरुले सुने अब तपाइले पनि सायदै सुन्नु होला । के अहिलेसम्म उठेको करको प्रयोगबाट बनेका सडकमा यात्रा गर्ने जो कोहीले खुसीले कर तिर्ने वातावरण निर्माण भएको छ ? के यो निर्माण गर्ने दायित्व सरकारको होइन ? विना सुविधा जनताबाट मात्रै रकम संकलन गर्नु सरकारको कर्तब्य हो ? र, दुइबटा मास्क, धुलो छेक्ने चस्मा, दिउँसै घाम लागेको समयमा रेनकोट ओडेर, कुन खाल्टामा परेर अङ्गभङ्ग हुने हो भन्ने डरमा मोटरसाइकल चलाएर हिड्ने बाटोमा किन यति धेरै सडक कर ? यी र यस्ता प्रश्न हरेक नागरिकले उठाइरहेका छन् ।

बजेटले अयातीत सवारीसाधन विशेष गरेर कारमा सडक दस्तुर र अन्तःशुल्कमा वृद्धिसँगै यहाँ उद्योग खोल्नको लागि विशेष प्रोत्साहन दिने कुरा आउनु पर्ने थियो । त्यतातिरसमेत बजेट मौन रहेको छ । सवारी साधनलाई राजस्वको अचुक स्रोतको रुपमा मात्र लिइ रहने र कर थापिरहने कि त्यसलाई उत्पादकत्व बढाउने साधनका रुपमा हेरेर प्रत्साहित गर्ने ? यस तर्फपनि ध्यान जाओस् ।


Back_to_top