पासाङल्हामु सडक एकाइ कार्यालय स्थापित, मैलुङ सडक बन्द

रसुवा । त्रिशूली–सोमदाङ सडक निर्माण भएयता रसुवाको सडक रेखदेखका लागि मंगलबारदेखि धुञ्चेमा एकाइ स्थापना भएको छ । 

डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख नीरज शाक्यका अनुसार १०५ किलोमिटरको पासाङल्हामु राजमार्गमा बढ्दो सवारीचाप र ग्राङ-राम्चे क्षेत्रको जीर्ण सडकलाई ध्यानमा राखी नेपाल चीनबीचको व्यापार व्यवसाय अभिवृद्धिमा सहज पार्न धुञ्चेमा स्थापित सो एकाइ जिल्ला शिक्षा कार्यालयको खाली भवनमा राखिएको बताइएको छ । 

जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टलेविसं २०४२ मा बनेको सो सडकमा नयाँ एकाइ कार्यालय स्थापनाले अब नेपाल-चीनको व्यापार व्यवसाय सहज पार्न र सडक मर्मतसम्भारमा मद्दत मिल्ने बताए । सडक एकाइमा इञ्जिनीयरसहित दुई प्राविधिक रहनेछन् । बेत्रावतीदेखि रसुवागढीसम्मको पूरै सडक नियमित अनुगमन गर्ने व्यवस्था मिलाइएको बताइएको छ । 

मैलुङ बन्द

स्याफ्रुबेंसी–मैलुङखण्डको १७ किमी डबल लेन सडक खुल्ने कार्य सम्पन्न भई नेपाली सेनाले यही जेठ ६ गतेदेखि हस्तान्तरण गरेको बाटो हाल बन्द गरिएको छ । नयाँ मार्ग खोलिएका ठाउँमा ढुङ्गा खसी दुर्घटना हुने सम्भावना र अवैध गतिविधि बढ्न सक्ने भएकाले नयाँ सुरक्षाचौकी स्थापना नभएसम्मका लागि बन्द गरिएको प्रहरी निरीक्षक ध्रुव सिलवालले बताए । 

नयाँ खोलिएको सडकमा नाली, टेवा पर्खाललगायतका काम अगाडि बढाइन लागेको गल्छी-मैलुङ-स्याफ्रु सडक सुधार आयोजनाका प्रमुख सुबोध देवकोटाले जानकारी दिए । 


Back_to_top