५१ हजार मूल्य फरक भएका दुई प्रिमियम इलेक्ट्रीक स्कुटर, कुन रोज्ने ?

काठमाडौं । नेपाली बजारमा इलेक्ट्रीक स्कुटर ब्राण्डहरू बढ्दै गएका छन् । बजारमा फिचर लोडेड स्कुटरहरू उपलब्ध हुने क्रम बढेसँगै ग्राहकलाई कुन स्कुटर किन्दा उपयुक्त हुन्छ भन्ने अन्योलता बढाएको छ । अर्थात् विकल्प धेरै विकल्प हुँदा ग्राहकलाई राम्रो स्कुटर छान्न मुस्किल पर्न थालेको छ ।

पछिल्लो समय नेपाली बजारमा ग्राहको रोजाइमा पर्न सफल दुई प्रिमियम इलेक्ट्रीक स्कुटर हुन् एथर ४५० एक्स र जिहो एई ८ । यी दुवै स्कुटरले नेपाली बजारमा राम्रै प्रतिस्पर्धा गरिरहेका छन् ।

एथर एक्स ४५० को मूल्य ४ लाख ३९ हजार ९०० रुपैयाँ छ भने जिहो एई ८ को मूल्य ४ लाख ९० हजार रुपैयाँ तोकेको छ । एथरको तुलनामा जिहो ५१ हजार रुपैयाँ महंगो हो ।

यी दुवै स्कुटरमा लगभग समान मोटर क्षमता छ । एथर ४५० एक्समा ६.४ किलोवाट पिक क्षमताको मोटर छ भने जिहोमा १२.५ किलोवाट पिक मोटर उपलब्ध छ ।

एथर ४५० एक्सको टप भेरियन्टमा ३.७ किलोवाट आवर क्षमताको नन-रिमुभयबल (झिक्न नमिल्ने) ब्याट्री उपलब्ध छ । यो ब्याट्रीलाई एकपटक फुलचार्ज गरेर १५० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।

त्यस्तै, जिहो एई ८ इलेक्ट्रीक स्कुटरमा २.२ किलोवटा आवरको दुई ब्याट्री प्याक उपलब्ध छ । यो ब्याट्रीलाई एकपटक फुलचार्ज गरेर १४० देखि १६० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।

यी दुवै कम्पनीले दाबी गरेको रेन्ज रियल टाइम राइडमा पाउन मुस्किल हुन्छ । इलेक्ट्रीक सवारीको रेन्ज रोडको अवस्था, सवारी जाम, चालकमा निर्भर हुन्छ ।

यी दुवै स्कुटरलाई लगभग ५ घण्टाको समयमा चार्ज गर्न सकिन्छ । यसमा एथरले काठमाडौंका विभिन्न स्थानमा निर्माण गरिरहेको फास्ट चार्जर प्रयोग गर्न पाइने सुविधा छ ।

यी दुई स्कुटरमा आकर्षक फिचरहरू पाइन्छ । जसमध्ये एथर एक्समा पार्किङ एसिस्ट, हिल एसिस्ट, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, रिभर्स मोड जस्ता अत्याधुनिक फिचर छन् । यसमा ५ राइड मोड उपलब्ध छ ।

जिहोले आफ्नो स्कुटरमा तीन राइड मोड, एडप्टिभ हेडल्याम्प, डिस्र्टबेन्स अर्लाम, एन्टी थेफ्ट अर्लाम र स्मार्ट कनेक्ट लगायतका अन्य फिचर दिएको छ ।

यी दुवै स्कुटर फिचर लोडेड स्कुटर हुन् । एथर इलेक्ट्रीक स्कुटर बिक्री गर्ने कम्पनी वैद्यज् इनर्जीले फास्ट चार्जर राख्ने काम गरिरहेको छ भने कम्पनीले छुट्टै डेडिकेटेड सर्भिस सेन्टर संचालनमा ल्याइसकेको छ । एथर नेपालमा डेडिकेटेड सर्भिस सेन्टर संचालन गर्ने सम्भवत पहिलो कम्पनी रहेको छ ।

जिहो नेपाली बजारमा बिक्री गर्ने कम्पनी रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले हालसालै मात्र स्कुटरको बिक्री सुरू गरेको छ । कम्पनीले चार्जिङ नेटवर्क निर्माण तथा बिक्री पछिको सेवालाई कसरी अगाडि लैजान्छ त्यो भने हेर्न बाँकी छ ।

माथि उल्लेखित भिन्नता तथा समानताहरूका अलावा ग्राहकहरूले स्कुटर टेष्ट गरेर छनोट गर्न सक्नेछन् ।


Back_to_top