काठमाडौं । डिजेल एमिशन स्क्यान्डलमा फक्सवागेन ग्रुप अर्न्तगतको अडी डिभिजनको सीइओ रुपर्ट स्टैन्डलर गिरफ्तार भएका छन् । उनलाई सोमबार जर्मन प्रहरीले गिरफ्तार गरेको हो ।
डिजेल कान्डबाट फक्सवागेन समुहले छुटकारा पाउन सकेको छैन । फक्सवागेनमा २०१५ मा भएको डिजेल कान्डमा दोषी घोषणा भएको २ हप्तापछि सोही समुह अन्र्तगतको अडीमा समस्या देखिएको थियो ।
अडीमा भएको एमिसन स्क्यान्डलको छनबिनमा समस्या उत्पन्न गर्न नपाउन भनेर उनको गिरफ्तारी गरिएको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् । उनलाई आफ्नै घरबाट गिरफ्तार गरिएको थियो ।
केही दिन अगाडि जर्मन एमिशन अथाेरिटीले बजारबाट २ लाख ४० हजार अडीका कार फिर्ता लिन लगाएको थियो ।
अडी डिभिजनको सीइओ रुपर्ट स्टैन्डलरको गिरफ्तारीले अब कम्पनीमा नयाँ तरङ्ग पैदा गरेको छ । फक्सवागेन ग्रुपका सीइओ हर्वटले केहि समय अगाडी नै इलेक्ट्रीक कार उत्पादनतर्फ केन्द्रित गर्न नयाँ सीइओ ल्याउने तयारी गरेको जनाइएको छ ।
रुपर्ट स्टैन्डलरको गिरफ्तारीलाई फक्सवागेन समूहले पुष्टि गरेको छ । अब अन्य छानबिनको कामसँगै अदालतले उनलाई हिरासतमा राख्न आदेश दिएको छ ।