सन् २०२२ पछि विश्व कार बजारमा देखिने ५ परिवर्तन, नेपालमा कस्तो प्रभाव

काठमाडौं । विश्व अटोमोवाइल क्षेत्रमा व्यापक परिवर्तन देखिदै गएको छ । हालै, विकास भएको अटोनोमस प्रविधिले सवारी साधन चलाउन धेरै सजिलो मात्र भएको छैन, चालक र यात्रुलाई आरामदायी पनि अनुभव प्रदान गर्न थालेको छ ।

कारहरुमा प्रयोग हुदै गएको कनेक्टेड फिचरले कार अब यातायातको साधनमात्र नरहेर इलेक्ट्रोनीक्स डिभाइसकोरुपमा परिवर्तन भएको छ । यस्तोमा आगामी दिनमा बन्ने कारहरुमा अनिर्वाय रहने स्टेरिङ, गियर, ब्रेक, एक्सीलेटर जस्ता फिचर पनि डिजिटल प्रविधिमा आधारित हुने पक्का छ ।

गाडी निर्माताले कारमा व्यापक डिजिटल प्रविधिको प्रयोग बढाउँदै लगेकाले अबका कारहरुमा धेरै फङ्सन केही सुइच थिचेर वा भोइस कमाण्ड दिएर संचालन गर्न सकिने छ ।

डिजिटल प्रविधिको विस्तारसँगै कार खरिद गर्ने माध्यम पनि परिवर्तन हुने देखिन्छ । कम्वस्चन इन्जिनलाई प्रतिस्थापन गर्दै विद्युतीय गाडीको बजार हिस्सा बढ्ने निश्चित जस्तै छ । आगामी वर्षहरुमा अटोमोवाइल क्षेत्रमा आउने ट्रेण्डको बारेमा यहाँ चर्चा गरिएको छ ।

डिजीटल डिलीङ (अनलाईन खरिद विक्री)

विश्वभर कोभिड १९ को महामारीले व्यक्ति व्यक्ति बीचको प्रत्येक्ष सम्पर्कभन्दा पनि डिजिटल माध्यमबाट सम्पर्क स्थापित गर्न प्रयास भइरहेको छ । त्यहि भएर नै नेपालमा पनि गाडी विक्री गर्ने अधिकांश विक्रेता अनलाइन मार्फत गाडी किन्न सक्ने बनाएका छन् ।

नेपाल जस्तो ‘टच एण्ड फिल’ गर्ने देशमा त ग्राहकले अनलाइनबाट गाडी किन्न थालेका छन् भने विकसीत देशमा शोरुम जाने झन्झट मानिस उठाउन चाहँदैनन् ।

अमेरिकाको तथ्यांक हेर्ने हो भने कोभिड अगाडि मात्र २ प्रतिशत कारोवार डिजिटल प्रविधिमा आधारित थियो । तर, कोभिड सुरु भएयता अटोमोवाइल क्षेत्रमा डिजिटल कारोबारको हिस्सा ३० प्रतिशतमा पुगेको छ ।

यसरी अनलाइन कारोवार बढ्दै जाँदा डिलरसीप र शोरुम, विक्री गर्ने सेल्सम्यानको संख्या कटौती गर्दै आफ्नो डिजिटल प्लेटफर्मलाई ग्राहकमैत्री बनाउन उत्पादकहरु लागने संभावना रहेको छ ।

एक रिसर्चका अनुसार ग्लोवल अनलाइन कारको मार्केट सन् २०३० सम्ममा ७२३ बिलियन डलर पुग्ने छ । अहिले पनि विश्व अटोमोवाइल बजारमा डिजिटल कारोबार वार्षिक १२ प्रतिशतले बढिरहेको छ ।

ग्यासोलीनबाट इलेक्ट्रीकतर्फ मोडिदै

विगत दुई तीन वर्षदेखि इलेक्ट्रीक भेहिकलको माग विश्वव्यापी रुपमा बढ्दै गएको छ । विश्वको वातावरणमा अटोमोवाइल क्षेत्रले पारेको नकारात्मक प्रभावले गर्दा सबै ठूला देशहरु इभीको विकास र विस्तारमा लागेका छन् ।

यूरोपका धेरै देशहरुले इभी किन्न चाहने ग्राहकहरुलाई अनुदान दिइरहेका छन् । अमेरिकी सरकारले पनि हालै मात्र सन् २०३० सम्म ५ लाख चार्जिङ स्टेसन बनाउने घोषणा गरेको छ । ठूला अटोमोवाइल कम्पनीहरुले अर्बौ डलर इभीको विकासमा लगाउने प्रतिवद्धता गरिसकेको छन् । नेपालमा पनि कम्बस्चन इन्जिनको तुलनामा कम कर लगाएर सरकारले इभी आयातलाई सहज बनाएको छ । साथै, बिक्रम सम्बत २०८८ पछि विद्युतीय गाडी मात्रै विक्री गर्ने लक्ष्य लिएको छ ।

एक अध्ययन अनुसार सन् २०३० सम्ममा विश्वमा इभीले आइसी इन्जिनबाट चल्ने सवारीको संख्यालाई जित्नेछ । फक्सवागेनले सन् २०४० सम्ममा आफ्नो मेजर मार्केट जीरो इमिसन बनाउने जनाएको छ । त्यस्तै जनरल मोटर्सले सन् २०३५ बाट आफ्ना सबै उत्पादन इभी हुने घोषणा गरिसकेको छ । पोर्स्चे, ज्यागुअर, फेरारी जस्ता कम्पनीसमेत विद्युतीय कार उत्पादनमा जुटेका छन् ।

आराम र रिल्याक्स फिल गर्ने

अब कार यातायातको साधनमात्रै रहने छैन । अब बन्ने कारहरु तपाईको स्वास्थ्य, माइन्ड र मुटुको चाललाई बुझ्न सक्ने किसिमका हुन्छन् । प्रविधिको उच्चतम प्रयोगले कार लग्जरी बस्तुको रुपमा विकास हुँदैछ । अहिल्य नै कारको सिटमा बस्दा सिटले नै मसाज गर्ने फङ्सनको विकास भइसकेको छ ।

त्यस्तै प्रदुषित वातावरणबाट बचाउन हावा सुद्धिकरण गर्ने एयर प्यूरीफायर कम बजेटका गाडीमा उपलब्ध हुन थालेको छ । कारले तपाई हिडिरहेको स्थानमा वाहिर कति प्रदुषण छ भनेर देखाउन सक्ने भइसकेको छ ।

हाइटेक प्रविधिको प्रयोग

कारमा दिइएको फिचरहरु अहिले मोवाइल अपडेट भएजस्तै निरन्तर अपडेट गर्नु पर्ने हुन्छ । कम्पनीहरुले अहिले कारमा करोडौं कोडहरु प्रयोग गर्न थालेका छन् । कम्पनीहरुले अहिले नयाँ कारको डिजाइनदेखि नै डिजिटल प्रविधिको प्रयोगलाई पहिलो प्राथमिकतामा राख्ने गरेका छन् ।

अमेरिकी लग्जरी इभी निर्माता टेस्लाले अपरेटिङ सिस्टम अपग्रेड गरिरहेको र अटोनोमस प्रविधिमा नयाँ नयाँ फिचरहरु थपिरहेको टेस्लाका प्रयोगकर्ता बताउँछन् । निकट भविष्यमै कम्पनीहरुले आफ्नै आइओएस तथा एन्ड्ररोइड स्पेसिफिक मोविलीटी भर्सनसमेत निर्माण गर्ने छन् ।

कम खर्चमा लग्जरी कार ‘सस्कृप्सन मोडल’मा

कार निर्माता कम्पनीहरुले कार विक्री मात्र नगरि अब भाडामा लिन मिल्ने ‘सस्कृप्सन मोडल’ समेत ल्याउन थालेका छन् । यो मोडल भाडामा लिँदाभन्दा केही कम समयमा र सहज तरिकाले उपभोग गर्न सकिन्छ ।

यो मोडलमा गाडी निर्माता कम्पनीले ग्राहकलाई लग्जरी कारहरु थोरै थोरै समयका लागि कम मूल्यमा दिनेछन् । आफैँ कार किन्न र घरमा पार्किङ गर्न नचाहने युवा ग्राहकहरु यस्तो योजनामा आकर्षित भएको देखिन्छ ।

आफ्नै कार नराख्दा मेन्टीनेन्सको झन्झट नहुने, अटोलोनको इएमआईको बारेमा सोच्न नपर्ने, आफूले चाहेको समय र स्थानमा कार उपलब्ध हुने जस्ता कारण ‘सस्कृप्सन मोडल’ सफल हुँदै गएको छ । विश्वव्यापी रुपमा इभीको प्रयोग बढ्दै जानाले पनि सब्कृप्सन मोडलमा ग्राहकहरु आकर्षित भएका हुन् ।


Back_to_top