काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट सवारीसाधन खरिदका लागि ऋणीहरूले १ खर्ब ५४ अर्ब रुपैयाँ बढी ऋण लिएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरूले मानिसको आवश्यकता अनुसार विभिन्न किसिमका कर्जा उपलब्ध गराउने गरेका छन् । विशेषगरी सानो रकम कर्जा लिँदा मानिसहरूले घर किन्न, गाडी किन्न, जग्गा किन्न र साना मझौला व्यवसाय गर्न आवश्यक कर्जा लिन बैंक जाने गर्छन् ।
बैंकबाट ऋण लिएर आफ्नो आम्दानी अनुसार मासिक किस्तामा तिर्नेगरी कर्जा उपभोग गर्ने प्रचलन बढेसँगै सवारीसाधन, घर, जग्गा र साना मझौला व्यवसायमा कर्जा जान थालेको हो । मानिस आम्दानीको अवस्था र आवश्यकता हेरेर बैंकहरूले सवारीसाधन कर्जा दिने गर्छन् । बेला बखत बैंकहरूले अटो कर्जाको लागि विभिन्न स्कीमसमेत ल्याउने गरेका छन् ।
बैंक तथा बीमा क्षेत्रको महत्वपूर्ण व्यवसायिक हिस्सा ओगटेको अटो व्यवसाय पछिल्लो केही समयदेखि सुस्त भएको थियो । जसको कारण यस क्षेत्रको कर्जा पनि अघिल्ला वर्षको तुलनामा घटेको हो ।

विदेशी विनिमय संचिति घट्दै गएपछि सरकारले लगाएको आयात प्रतिबन्धका कारण सवारी साधन आयात हुन सकेको छैन भने मागमा संकुचन आएको छ । यद्यपि, आगामी पुस १ गतेदेखि आयात प्रतिबन्ध हटाउने निर्णय सरकारले गरिसकेको छ भने नेपाल राष्ट्र बैंकले एलसी खोल्दा नगद मार्जिनको व्यवस्था कायमै राखेको छ ।
विशेषगरी, एकैपटक ठूलो रकम तिर्न आम्दानीले नधान्ने हुँदा किस्ता तिरेर सवारी साधन खरिद गर्ने प्रचलन बढ्दै गएको देखिन्छ ।
प्रविधिमा आएको रुपान्तरणले सवारीसाधनको दायरा र उपकरणमा नयाँ आयाम थपेको छ भने, लगानीका लागि संस्थाहरूले पनि सोही अनुसार सुविधाहरू उपलब्ध गराइरहेका छन् ।
पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई प्रतिस्थापन गर्न इलेक्ट्रीक सवारीसाधनको प्रयोग बढ्दो क्र्रममा छ । अर्कोतिर सरकारी निकायको सोही नीतिलाई प्रोत्साहन तथा ग्राहकको आकर्षण बढाउन संस्थाहरूले पनि ऋणको उपलब्धता सहज र केही सुलभ बनाएका छन् ।
कुन बैंकको ब्याजदर कति ?
बैंक तथा वित्तीय संस्थाहरूले सवारी साधन कर्जाको लागि फरक-फरक ब्याजदर निर्धारण गरेका छन् । संस्थाहरूले ईभी खरिदका लागि ऋणको उपलब्धता बढाएका छन् भने अन्य सवारीको लागि स्थिर ब्याजदर पनि कायम गरेको जनाएका छन् ।
स्टन्डार्ड चार्टर्ड बैंकले हायरपर्चेज कर्जाको ब्याजदर १०.२५ प्रतिशत कायम गरेको छ । जुन अन्य बैंकको तुलनामा कम हो । यस बैंकबाट सवारी खरिदका लागि ऋण लिन चाहनेहरूले सस्तोमा कर्जा पाउने देखिन्छ ।
नबिल बैंकले ९.४५ प्रतिशत आधार दरमा ७ प्रतिशतसम्म प्रिमियम लिएर सवारी कर्जाको ब्याजदर तोकेको छ । यस बैंकबाट कर्जा लिनचाहने ग्राहाकले साढे १६ प्रतिशतसम्म ब्याजदर तिर्नुपर्ने हुन्छ । तर, बैंकले ईभीको हकमा १२.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ ।
ग्लोबल आइएमई बैंकले १०.१९ प्रतिशत आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम जोड्ने जनाएको छ । त्यसैगरी, एनआइसी एशियाले १५.९ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो आधार दर ८.९२ प्रतिशतमा ४.५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा दिने जनाएको छ ।
सरकारी स्वामितवको राष्ट्रिय वाणिज्य बैंकले १३.५, सिद्धार्थले १४, प्रभु १३.५ र प्राइम कमर्सियल बैंकले १६ प्रतिशत ब्याजदरमा कार किन्नेलाई कर्जा उपलब्ध गराउने जनाएका छन् । हिमालय बैंकले पनि १३ प्रतिशत हाराहारीमा ईभीको लागि कर्जा दिने जनाएको छ ।

