असोज महिनाबाट गाडी र घर कर्जा लिनेले व्याजदर छनोट गर्न पाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुलाई असोज मसान्तभित्र स्थिर (फिक्सड) ब्याजदर तोकिसक्न राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । केन्द्रिय बैंकको निर्देशनसँगै दशैं तिहारको अवशरमा अटो र होम लोन लिने ग्राहकले परिवर्तीय र स्थीर व्याजदर मध्ये एक रोजेर कर्जा लिन पाउने भएका छन् ।

बैंकहरुलाई एकीकृत निर्देशिका २०७७ ले गरेको व्यवस्था अनुसार पहिलो पटकका लागि असोज मसान्त भित्र बीचमा परिवर्तन नहुने ब्याजदर निर्धारण गरी प्रकाशन गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको हो ।

केन्द्रीय बैंकले गत साता निर्देशिका जारी गर्दै १ वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुने गरी स्थिर ब्याजदर कायम गर्नुपर्ने व्यवस्था गरेको थियो। सोही अनुसार बैंकहरूले आगामी १ महिनाभित्र स्थिर ब्याजदर कायम गर्नुपर्ने भएको हो।

नयाँ व्यवस्था अनुसार अब बैंकहरुले सवारी र घरकर्जाको भुक्तानी अवधिभर एउटै ब्याजदर कायम गर्नु पर्नेछ अर्थात बीचमा ब्याजदर परिवर्तन गर्न पाउने छैनन् ।यसका लागि बैंकले प्रडक्ट ल्याउँदा नै ब्याज परिवर्तन र स्थिर गरी दुवैको किस्ताबारे स्पष्ट खुलाउनु पर्ने छ ।

बैंकहरुले बेसरेट परिवर्तन भएसँगै सवारी र घरकर्जाको ब्याजदरमा पनि परिवर्तन गर्दा ऋणी समस्यामा परेको भन्दै यस्तो व्यवस्था गरिएको बताएको छ ।

यो व्यवस्था व्यक्तिको नाममा प्रवाह भएकारहुने घर कर्जा, गाडी कर्जा, लगायतका मासीक वा कुनै पनि आवधिक किस्तामा भुक्तानी हुने गरी प्रवाह गरिएका एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका कर्जामा लागू हुनेछ।

‘एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुने गरी स्थिर ब्याजदर कायम गर्नु पर्नेछ । यस प्रयोजनको लागि, इजाजतपत्र प्राप्त संस्थाले एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आवधिक कर्जाको ब्याजदर भुक्तानी अवधिभर परिवर्तन नहुने गरी स्थिर ब्याजदर (फिक्सड इन्ट्रेस्ट रेट) निर्धारण गर्नुपर्नेछ,’ निर्देशिकामा भनिएको छ ।

‘तर, ग्राहक स्वयंले इजाजतपत्र प्राप्त संस्थाको आधार दर परिवर्तन हुँदा परिवर्तन हुने परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहेमा ग्राहकको अनुरोधमा परिवर्तनीय ब्याजदर कायम गर्न यो व्यवस्थाले बाधा पुर्याएको मानिने छैन,’ निर्देशिकामा उल्लेख छ ।

यसका आधारमा स्थिर ब्याजको प्रडक्ड खरिद गरेका ग्राहकले कर्जा भुक्तानी अवधिभर ब्याजदर परिवर्तन गर्न पाउने छैनन ।


Back_to_top