अटो लोन खोज्दै हुनुहुन्छ ? बजारमा यस्तो छ व्याजदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत कार्तिक महिनाको अन्त्यमा सवारी साधनमा जाने कर्जामा कढाई गरेसँगै बैंकमा अटोलोन माग गर्नेको संख्या ह्वातै घटेको छ । केन्द्रिय बैंकले ६५ प्रतिशत फाइनान्सिङ सुविधालाई घटाएर ५० प्रतिशतमा झारेसँगै अटोलोनको माग घटेको हो ।

पछिल्लो समय वित्तीय क्षेत्रमा लगानी योग्य रकमको अभाव भएसँगै केन्द्रिय बैंकले सवारीसाधन कर्जामा कडाई गरेको थियो । अहिले बजारमा विकास बैंक र बाणिज्य बैंकले दिने अटो कर्जामा ब्याजदर उस्तै रहेको छ । सामान्यतया बैंक र विकास बैंकले १३–१४ प्रतिशत व्याजदरमा कर्जा प्रबाह गर्दै आएका छन् ।

केन्द्रिय बैंकको सर्कुलरसँगै बैंकहरुमा अटोलोनको माग घट्नुका साथै अटो व्यवसाय करिब ३० प्रतिशत भन्दा बढीले घटेको अनुमान गरिएको छ । तर, कतिपय गाडी बिक्रेता कम्पनीले सवारीसाधनको बिक्रीमा ५० प्रतिशतले कमि आएको जनाएका छन् ।

सावारीसाधन बिक्रेता कम्पनीहरुको संस्था नाडा अटोमोबाइल एसोशिएसन अफ नेपालमा आएका गुनासो अनुसार सवारीसाधनको बिक्री ३० देखि ५० प्रतिशतसम्मले घटेको अध्यक्ष शम्भुप्रसाद दाहालले जानकारी दिए ।

‘राष्ट्र बैंक सर्कुलरसँगै निजी सवारीसाधनमा प्रयोग हुने गाडीको बिक्री खराब अवस्थामा पुगेको छ, यो कुरा हामीले अर्थमन्त्रीसँग राखेका छौं । उहाँले हाम्रो कुरालाई बुझनु भएको होला’ दाहालले मेरोअटोसँग भने । 

‘पछिल्लो समय गाडी किन्न ५० प्रतिशत डाउनपेमेन्ट राख्नु पर्ने केन्द्रिय बैंकको नीतिपछि २५ देखि ३० प्रतिशतले अटोलोनको माग घटेको छ ।’ कामना सेवा विकास बैंकका निमित्त सीइओ प्रबिन बस्नेतले भने । 

कुन बैंकमा कति व्याज दर ?

ज्योति विकास बैंकले साढे १३ देखि १४ प्रतिशत ब्याजदरमा सवारीसाधन कर्जा दिइरहेको छ । बैंकले १ प्रतिशत सेवा शुल्क र १० वर्षसम्मका लागि अटोलोन दिने व्यवस्था गरेको जनाएको छ । 

ग्लोबल आइएमई बैंकले १३ देखि १४ प्रतिशत ब्याजमा अटोलोन उपलब्ध गराउँदै आएको छ । त्यस्तै सानिमा बैंकले १४ प्रतिशत ब्याजदरमा अटोलोन दिर्दै आएको छ । बैंकले फोर ह्वीलर सवारीलाई ५ देखि ७ वर्षसम्मका लागि लोनको व्यवस्था गरेको बैंकले जनाएको छ । 

त्यस्तै लक्ष्मी बैंकले १२ प्रतिशत व्याजदरमा अटोलोन दिदै आएको छ । बैंकले ७ वर्षसम्मका लागि फोर ह्वीलर लागि कर्जा दिने गरेको छ ।

गरिमा विकास बैंकले १३ देखि १४ प्रतिशत ब्याजरमा अटोलोन उपलब्ध गराइरहेको जनाएको छ । 

कामना सेवा विकास बैंकले साढे १३ प्रतिशतशदेखि १५ प्रतिशतसम्मको व्याजदरमा अटोलोन उपलब्ध गराइरहेको छ । बैंकले ८ वर्षसम्मका लागि अटोलोन उपलब्ध गराउँदै आएको छ । बैंकले निजी सवारीका लागि साढे १३ प्रतिशत र ठूला ट्रकलगायतका सवारीसाधनमा १५ प्रतिशतसम्मको व्याजदर तोकिएको छ । 

एनआईसी एसिया बैंकले १२ देखि १३ प्रतिशत ब्याजमा फोर ह्वीलर गाडीहरुलाई अटोलोन दिइरहेको छ । बैंकले सवारीसाधनको ब्राण्डलाई आधार बनाएर ४ देखि ८ वर्षसम्मका लागि कर्जा प्रबाह गरिरहेको जनाएको छ ।

स्टायडर्ड चाटर्ड बैंकले अन्य बैंकको तुलनमा दुई प्रतिशतसम्म कम व्याजदरमा अटोलोन दिईरहेको भएपनि अन्य सबै बैंकको व्याजदर १२ देखि १४ प्रतिशतको हाराहारीमा रहेको छ । 


Back_to_top