गाडी किन्ने र बेच्ने दुवैको ‘निरश दशैं’, विद्युतीयमा अर्कै समस्या

काठमाडौं । सरकारले आयात प्रतिबन्धलाई निरन्तरता दिँदै आगामी असोज २८ गतेसम्म कुनै पनि पेट्रोलियम पदार्थबाट चल्ने गाडी आयात गर्न प्रतिबन्ध लगाएसँगै गाडी धेरै विक्री हुने समयमा नै गाडी अभाव हुने भएको छ ।

अहिले बजारमा धेरै गाडी विक्री गर्ने हुन्डाई, महिन्द्रा, सुजुकी, टाटा, किया, निसान जस्ता ब्राण्डसँगै गाडीको उपलब्धता न्यून भइसकेको छ । त्यसैले दशैं आउन २५ दिन मात्रै बाँकी रहँदा पनि कुनै पनि कम्पनीले दशैं स्कीम संचालन गरेका छैनन् ।

कम्बस्चन गाडीको आयात प्रतिबन्ध र चीनबाट आयात हुने विद्युतीय गाडी चीनमा भएको बोर्डर बन्दको प्रभावमा परेसँगै दशैं गाडी विक्रेता र क्रेताको लागि निरश भन्ने भएको हो ।

अहिले बजारमा ईभी विक्री गर्दै आएका बीवाइडी, नेटा भी र एमजीले चीनबाट गाडी ल्याएर विक्री गर्दै आएकोमा एमजीका उत्पादन कर वृद्धिपछि आउन सकेको छैन । बीवाइडी र नेटा भीले चीनबाट ईभी आयात गरिरहेको भएपनि कोभिडको कारण नाका बन्द भएपछि बाटोमा नै गाडीहरू अड्केका छन् ।

चीनतर्फबाट केरुङ हुँदै आउने विद्युतीय स्कुटरहरू पनि तत्काल आउने अवस्था छैन । त्यसैले समग्रमा यस पटकको दशैंमा ग्राहकले कुनै पनि साधनमा धेरै छनोट पाउने अवस्था छैन ।

नेपालमा विगतका वर्षको विक्री तथ्यांकलाई हेर्ने हो भने चाडपर्वको समयमा ५ हजार यूनिट हाराहारी गाडी विक्री हुने गरेको देखिन्छ । तर, यसपटक बजारमा अत्यन्त न्यून संख्यामा मात्रै गाडी स्टकमा रहेको कारण ग्राहकले भेरियन्ट, कलर जस्ता विषयमा छनोट पाउन सक्ने अवस्था छैन ।

यद्यपि, यसबीचमा टाटा र हुन्डाईले तुलनात्मक रूपमा राम्रो संख्यामा इलेक्ट्रीक गाडी आयात गरिरहेका छन् । त्यही कारण यसअघि बुकिङ गरेर बसेका सीमित ग्राहकले मात्र दशैंमा गाडी पाउने अवस्था देखिन्छ ।

टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले पुरानो गाडी बुकिङ गरेर बसेका ग्राहकलाई चाडपर्वमा गाडी डेलिभरी दिन आफूहरू लागि परेको जनाएको छ । टाटा नेक्सन ईभी नेपालमा सर्वाधिक विक्री हुने मोडल हो । यसको वेटिङ पिरियड करिब ६ महिनाको रहेको कम्पनीको भनाइ छ ।

त्यसैगरी, हुन्डाई कोना पनि राम्रो डिमान्ड भएको गाडी हो । यसको सप्लाई भने सीमित रहेको छ । हुन्डाई कोनाको वेटिङ पिरियट ४ महिना माथि पुगेको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जनाएको छ ।

अबको केही दिनमा केरुङ नाका खुल्ने हो भने बीवाइडीको एटो थ्री मोडल पनि नेपालमा विक्री सुरू हुन्छ । अगस्ट १८ तारिखमा सार्वजनिक गर्ने तयारी भएको एटो थ्री कोभिडको कारण केरुङ नाका बन्द हुँदा नेपाल आउन सकेको छैन ।

बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले आधिकारिक बुकिङ खुल्ला नगर्दै राम्रो संख्यामा बुकिङ भइसकेको एटो थ्री पनि ग्राहकको माग अनुसार तत्काल सप्लाइ हुनेमा विश्वस्त हुने ठाँउ छैन ।

 


Back_to_top