मोटरसाइकल वा स्कुटरमा लागेको जरिवाना फागुनसम्ममा तिर्नेलाई छुट

काठमाडौं । बागमती प्रदेश सरकारले मोटरसाइकल तथा स्कुटरको कर फागुन मसान्तसम्ममा तिर्नेलाई लागेको सम्पूर्ण जरिवाना मिनाह गर्ने बजेटले घोषणा गरेको छ ।

हिजो प्रदेश सभामा सार्वजनिक भएको बजेटले पुराना कर तिर्न बाँकी रहेका सवारीधनीलाई सहुलियत दिन यो सम्पूर्ण कर तिर्दा लाग्ने जरिवानामा छुट दिने भएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री सालिकराम जम्कटेलले हिजो सार्वजनिक गरेको बजेटमा भनिएको छ, ‘विगतमा सवारीधनीले समयमा दाखिला गर्न नसकेको मोटरसाइकल, स्कुटर एबं अन्य दुई पाङ्ग्रे सवारीसाधनको कर सम्बत २०७९ फागुन मसान्तसम्म दाखिला गरेमा जरिवाना छुट दिने व्यवस्था मिलाएको छु ।’

प्रदेश सरकारले बागमतीमा दर्ता भएका सवारीसाधनले बीचमा कर तिर्न छाडेको, नभ्याएको र छोडेको हकमा बिना जरीवाना तिर्ने व्यवस्था मिलाएको हो । यसले कर तिर्न छुटेका सवारीधनीलाई सहयोग गरेको छ ।


Back_to_top