फेरी प्रतिस्पर्धामा भेन्यू र ब्रेजा

काठमाडौं । मारुती सुजुकी र हुन्डाई भारतमा कार उत्पादन गर्ने दुई ठूला ब्राण्ड बीच साना कार विक्री गर्ने विषयमा खासै प्रतिस्पर्धा छैन । दुबै ब्राण्डले आ-आफ्नो बलियो सेग्मेन्ट बनाएर गाडी उत्पादन गर्दै आएका छन् ।

हुन्डाईले विशेषगरी ह्याचव्याक, प्रिमियम ह्याचव्याक र एसयूभी सेग्मेन्टमा आफुलाई केन्द्रित गर्दै आएको छ । तर, मारुती सुजुकीले भने इन्ट्री लेभल मोडल अल्टो, एसप्रेसो, सेलेरियो, स्वीफ्ट, वागेनआर र प्रिमियम ह्याचव्याक बलेनो सर्वाधिक धेरै बेच्ने मोडल हो । कम्पनीसँग एसयूभी सेग्मेन्टमा चल्तीको मोडल ब्रेजा मात्रै रहेको छ ।

हुन्डाईले भने सबैभन्दा धेरै विक्री गर्ने क्रेटा, ग्राण्ड आई १० नियोस, आई २० र भेन्यू मोडल रहेका छन् । हुन्डाई भेन्यू र मारुती सुजुकी ब्रेजा बीच सन् २०१९ देखि कडा प्रतिस्पर्धा हुँदै आएको छ । यस्तोमा मारुतीले ब्रेजाको नयाँ जेनेरेशन मोडल र हुन्डाईले भेन्यूको फेसलिफ्ट मोडल बजारमा ल्याउँदै छन् ।

नयाँ जेनेरेशन मोडल ल्याइरहेको मारुती सुजुकी ब्रेजामा बाहिर डिजाइनमा धेरै फरक नभएपनि फेसलिफ्ट मात्रै भनिएको भेन्यूमा भने ब्यापक परिमार्जन गरिएको छ । त्यसैले यी दुई मोडल बीचको आगामी प्रतिस्पर्धा पनि निकै रोचक बन्ने अनुमान गर्न सकिन्छ ।

हुन्डाईले भेन्यूलाई नयाँ जेनेरेशन टुसानको प्यारामेटीक ग्रिल सहित बजारमा ल्याएको छ । भारतमा आज एक कार्यक्रम आयोजनागरी भेन्यू फेसलिफ्ट सार्वजनिक गर्ने कार्यक्रम राखिएको छ ।

मारुती सुजुकीले पहिलो पटक ब्रेजामा सनरुफदेखि हेडअप डिस्प्लेसम्मको फिचर दिएको छ । यसले ब्रेजा चढ्ने ग्राहकले फरक अनुभव पाउने छन् ।

हुन्डाईले पहिलो पटक भेन्यूमा ड्राइभ मोड दिएको छ । त्यसको साथै, डिजिटल ड्राइभर डिस्प्ले, अपग्रेड गरिएको पछाडिको सिट यसमा पाउन सकिन्छ । दुबै गाडीमा धेरै नयाँ फिचर रहने अनुमान गरिएको छ ।

मारुती सुजुकीले केही दिनपछि भारतबाट नयाँ ब्रेजाको विक्री सुरु गर्ने जनाएको छ । यी दुबै एसयूभी साइजको हिसावले फिचरको हिसावले कडा प्रतिस्पर्धी मोडल हुन् । तर, नेपाली बजारमा ब्रेजा १.५ लिटर पेट्रोल इन्जिनमा आएसँगै निकै राम्रो विक्री पाइरहेको छ । भेन्यूको विक्री पनि निकै राम्रो छ । यी दुई मोडलले सन् २०२१ मा करिब २ हजार ८ सय यूनिट विक्री भेट्टाएका थिए ।


Back_to_top