काठमाडौं । बागमती प्रदेश सरकारले सवारी साधनको वार्षिकर कर, नवीकरण दस्तुर र जरिवानामा छुट दिएको छ ।
आइतबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले पेश गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सवारी साधनलाई विभिन्न छुट घोषणा गरेका हुन् ।
आर्थिक वर्ष २०८१/८२ सम्म प्रचलित कानुन अनुसार सवारी साधन कर नबुझाएका र सवारी साधन दर्ताको प्रमाणपत्र नवीकरण नगरेका सवारी धनीले पछिल्लो ३ आर्थिक वर्षको सवारी साधन कर तथा नवीकरण दस्तुर २०८३ जेठ मसान्तसम्म बुझाएमा सोभन्दा अगाडिका आर्थिक वर्षहरूमा लाग्ने सवारी साधन कर तथा नवीकरण दस्तुर र जरिवानामा छुट दिइएको छ ।
त्यस्तै, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र मातहतका निकायहरूको स्वामित्वमा रहेका मर्मत सम्भार गरी प्रयोगमा ल्याउन नसकिने सवारी साधनहरूको हकमा सम्बन्धित सवारी साधन दर्ता भएका कार्यालयले यातायात व्यवस्था हेर्न मन्त्रालयको स्वीकृतिमा तिर्नु बुझाउनुपर्ने राजस्व बाँकी भए सो समेत मिनाहा भई लगत कट्टा गरी स्वामित्व रहेको कार्यालयबाट लिलाम बिक्री गर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी, बागमती प्रदेशभित्र दर्ता भएका २० वर्ष वा सोभन्दा पुराना सार्वजनिक सवारी साधनधनीले आफ्नो दर्ता खारेज गर्न चाहनले २०८३ जेठ मसान्तसम्म २० वर्षसम्मको तिर्न बुझाउन बाँकी सवारी साधन कर तथा नवीकरण दस्तुर बुझाएको सो बापत लाग्ने जरिवानामा शतप्रतिशत छुट दिइएको छ ।
त्यस्तै, प्रदेशमा दर्ता भई नवीकरण नगरेका यातायात सेवासँग सम्बन्धित प्रशिक्षण केन्द्र, कारखाना, वर्कसप र रिकन्डिसन हाउस लगायतका व्यावसायीहरूले पछिल्लो अवधिको नवीकरण् दस्तुर २०८३ जेठ मसान्तसम्म बुझाएमा सोभन्दा अगाडिका अवधिमा लाग्ने नवीकरण दस्तुर र जरिवानामा शतप्रतिशत छुट दिएको छ ।