काठमाडौं । हिजो राति बैतडीमा भएको जन्ती बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
बिहीबार रातिसम्म ८ जनाको मृत्यु भएको थियो । थप ५ जनाको डडेलधुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएसँगै मृतकको संख्या १३ पुगेको हो ।
बिहीबार राति बैतडीको पुर्चौडी नगरपालिका-७ को भौनीबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किंदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १११९ नम्बरको बस बढ्गाउँ मोडमा दुर्घटना भएको थियो । बस सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
दुर्घटनामा ३५ जना बढी घाइते भएका थिए । घाइते मध्ये २५ जनाको डडेलधुरा र ४ जनाको बझाङको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । त्यस्तै, ५ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।
दुर्घटना लगतै फरार बस चालक कञ्चनपुरको भीमदत्त नगरपालिका ७ हल्दुखालका ४२ वर्षीय वीरेन्द्र बुढालाई मध्यरात प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाको वास्तविक कारण नखुले पनि साँघुरो बाटो र ओभरलोडका कारण दुर्घटना भएको बताइएको छ ।
बेहुला-बेहुली भने अर्को गाडीमा रहेकाले सकुशल छन् ।

