नयाँ मोडल ल्याउने चटारोमा बिक्रेता, कुन ब्राण्डले के ल्याउँदै ?

काठमाडौं । बजारमा बढ्दो प्रतिस्पर्धासँगै उपभोक्तालाई आकर्षित गर्न कार बिक्रेताहरूले नयाँ मोडल समय समयमा ल्याउने गर्छन् । चिनियाँ ब्राण्डको बहुल्यता बढेसँगै नयाँ मोडल ल्याउने विषयमा पनि तीव्र प्रतिस्पर्धा हुँदै आएको देखिन्छ ।

सन् २०२६ को फेब्रुअरीको पहिलो साता सकिन लाग्दा पनि मारुती सुजुकीको भिक्टोरस बाहेक अन्य कुनै पनि नयाँ मोडल बजारमा आएको छैन । नेपाली बजारमा आउने तयारीमा रहेका मोडल भने थुप्रै छन् ।

ओमोडा/जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले छिट्टै आफ्नो फेसलिफ्ट ओमोडा ई फाइभ बजारमा ल्याउने तयारी थालेको छ । नेपाली बजारमा झण्डै १ हजार युनिट बिक्री पुग्न लागेको ई फाइभ पहिलेभन्दा परिष्कृत भएर आउने अपेक्षा गरिएको छ ।

सम्भवतः एसपीजी अटोमोबाइलले आगामी अप्रिल अन्तिमसम्ममा फेसलिफ्ट ई फाइभ नेपालमा बिक्री सुरू गरिसक्नेछ । कम्पनीले नयाँ आउन लागेको ई फाइभको टेक्नीकल डिटेल्स भने बाहिर ल्याएको छैन ।

मारुती सुजुकीको पहिलो इलेक्ट्रीक एसयूभी पनि अबको केही साता भित्रै नेपाल आउने छ । सीजी मोटोकर्पले भारतमा बिक्री सुरू हुने बित्तिकै सुजुकी ई भिटारा नेपाल ल्याउने योजना बनाएको छ । ईभी बिक्रीको लागि आवश्यक पूर्वाधार कम्पनीले बनाउँदै लगेको जनाएको छ । गत भदौमै एक युनिट ई भिटारा नेपाल ल्याएको कम्पनीले अप्रिल अन्तिमसम्ममा बिक्री थाल्न सक्ने छ ।

टोयोटा हाइलक्स इलेक्ट्रीक पनि आगामी मार्च अन्तिमसम्ममा नेपाल आउने मोडलको सूचीमा रहेको छ । जापानी ब्राण्डको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले आफ्नो सफल पीकअप ट्रक हाइलक्सको ईभी मोडलबाट नेपालमा विद्युतीय गाडीको बिक्री थाल्न लागेको हो ।

मोरिस ग्यारेजको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले पनि नयाँ मोडल आगामी अप्रिलसम्ममा बिक्री थाल्नेछ । कम्पनीले एमजीको नयाँ एसयूभी एस सिक्स नेपालमा बिक्री गर्ने तयारी गरेको हो । एमजी एस सिक्स अहिले बिक्रीमा रहेको एस फाइभभन्दा ठूलो हुनेछ ।

बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले डेन्जा ब्राण्ड नै नेपाली बजारमा सार्वजनिक गर्दैछ । मार्च महिनाबाटै बिक्री सुरू हुने डेन्जा ब्राण्डको शोरुम पनि अहिले नक्साल नारायणचौरमा बनिरहेको छ । डेन्जा ‘डी नाइन’को बिक्री सुरू गर्दै ब्राण्ड प्रवेश गर्न लागेको हो ।


Back_to_top