काठमाडौं । बजाज मोटरसाइकलले सन् २००१ बाट पल्सको उत्पादन सुरु गरेको थियो । पल्सरले आफ्नो २० वर्ष पुरा गरेको छ । २० वर्षको दौरानमा पल्सरका बिभिन्न सिरिज बजारमा आए ।
१५० सीसी क्षमताको इन्जिन भएको पहिलो स्पोटर्स मोटरसाइकलको रुपमा बजारमा आएको पल्सर नेपालमा पनि सन् २००१ बाटै बिक्री सुरु भएको हो । नेपालमा हंशराज हुलासचन्द एण्ड कम्पनीले शुरुवाती दिनदेखि नै बजाज नेपाल भित्र्याएर बिक्री गर्दै आएको छ । पल्सर नेपालमा आएपछि बजाज ब्राण्डभन्दा पनि पल्सर ब्राण्डको रुपमा विकास हुँदै गयो ।
नेपाल लगायत विश्वका ७० भन्दा बढी देशमा बिक्री हुने पल्सर भारतीय उत्पादक बजाज अटोले बजारमा ल्याएको हो । अहिले पल्सर सिरिजमा १२५, १५०, १६०, २०० र २२० सीसी क्षमताका मोटरसाइकल बिक्री वितरण हुँदै आएका छन् ।
यसअघि पल्सर १३५ र १८० पनि नेपालमा बिक्री हुने गरेको थियो ।
अहिले विश्वभर १ करोड २५ लाख यूनिट पल्सर गुडिरहेको बजाज अटोले जनाएको छ । नेपालमा पनि सबैभन्दा बढी पल्सर नै गुड्ने गरेको छ । बजाजले विश्वको स्पोटर्स मोटरसाइकल सेग्मेन्टमा करिब ४२ प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीको दाबी छ ।
नेपालमा पल्सर १५०, पल्सर एनएस २०० र पल्सर २२० एफ सर्वाधिक सफल मोडल हो ।
कम्पनीले सन् २००१ मा पल्सर १५० र पल्सर १८० लाई बजारमा ल्याएको थियो । सुरुमा परम्परागत डिजाइनको राउन्ड हेडल्याम्पको साथ बजारमा आएको पल्सरमा एयर कुल्ड सिंगल सिलिण्डर टु भल्भ इन्जिन दिएको थियो । ‘डेफिनेट्ली मेल’ स्लोगनसँगै आएको पल्सरले बजारमा नयाँ बेञ्चमार्क राख्न सफल भएको थियो ।
त्यसलाई कम्पनीले सन् २००३ मा अपग्रेड गरेको थियो । ट्वीन पाइलट हेडल्याम्प र डिटिएसआई इन्जिनको साथ आएको पल्सरको पावर समेत बढेको थियो ।
सन् २००४ मा कम्पनीले यसलाई पुनः अपग्रेड गर्यो । १७ इन्चको अलोय ह्वील र ट्वीन निट्रो शक एब्जर्वरको साथ आएको पल्सर १५० पहिलोभन्दा आरामदायी र आकर्षक बनेको थियो ।
सन् २००६ मा पल्सर १५० को तेस्रो अपग्रेड भयो । कम्पनीले पहिलेभन्दा बढी परिमार्जन सन् २००६ मा नै गरेको हो । कम्पनीले यसमा फुल डिजिटल स्पीडोमिटर र इन्जिन किल स्वीचको प्रयोग भएको थियो ।
अध्यारोमा पहिलेभन्दा राम्रो प्रकाशको लागि व्याकलाइट स्वीच यसमा दिइएको थियो । आफै निभ्ने टर्न इन्डिकेटर, आरपीएम सिफ्ट लाइट जस्ता फिचर समाबेस भएर आएसँगै पल्सर १५० को क्रेज निकै बढेको थियो ।
त्यसपछि सन् २००७ मा पल्सर सिरिजमा २०० डिटिएसआई र २२० डिटिएसआई एफआई इन्जिनमा दुई मोडल बजारमा आए । पल्सर २०० डिटिएसआई र २२० एफआई दुबैमा आयल कुल्ड इन्जिन दिइएको थियो ।
कम्पनीले सन् २००९ मा १३५ सीसी क्षमताको पल्सर बजारमा ल्याएको थियो । नेपाली बजारमा पनि सार्वजनिक भएको पल्सर १३५ खासै सफल हुन सकेन । यसमा अगाडि चक्कामा डिस्क ब्रेक दिइएको थियो ।
कम्पनीले सन् २०१२ मा पल्सर एनएस २०० बजारमा ल्याएको थियो । सार्प डिजाइनमा आएको पल्सर एनएसमा ग्यासचार्ज मोनोसक दिइएको थियो । सन् २०१५ मा यसकै आर २०० बजारमा आएको थियो ।
बजाज अटोले सन् २०१७ मा पल्सर एनएस १६० बजारमा ल्यायो । जुन अहिलेपनि बजारमा उपलब्ध रहेको छ ।
कम्पनीले आफ्नो सबैभन्दा कान्छो पल्सरको रुपमा पल्सर १२५ बजारमा ल्याएको छ । यसलाई कम्पनीले सन् २०१९ मा बजारमा ल्याएको हो । यसको नेपालमा पनि बिक्री सुरु भइसकेको छ ।
नेपालमा सफल ३ मोडल
बजाजको सर्वाधिक सफल तीन मोडलमा पल्सर १५०, पल्सर एनएस २०० र पल्सर २२० एफ रहेका छन् । यसका अलावा पछिल्लो दिनमा आएको पल्सर १२५ पनि सफल हुँदै गएको छ ।


