काठमाडौं । हार्टफोर्ड नेपालमा बिक्री हुने सबैभन्दा पुरानो मध्यको एक डर्ट बाइक हो । नेपाली युवा माझ कुनै समय निकै चर्चामा रहेको यो मोटरसाइकल अहिले पनि सडकमा राम्रै संख्यामा गुडेको देख्न सकिन्छ ।
हार्टफोर्ड मोटरसाइकलको नेपालको अधिकारिक वितरक परिर्वतन भएको छ । यस अघि इन्टरनेशनल मोर्टस प्रालिले बिक्री गर्दै आएको थियो भने अब हार्टफोर्डको वितरकमा इग्निशन अटो नियुक्त भएको छ ।
नयाँ कम्पनीले नियुक्त भएसँगै कम्पनीले हाल जारी सटडाउन अन्त्य भए पश्चात दुई मोटरसाइकलको बिक्री सुरु गर्ने आफ्नो आधिकारिक पेजमार्फत जानकारी गराएको छ ।
कम्पनीले परिमार्जन सहित ‘भीआर १५० र २२३’ गरि दुई भेरियन्टमा उपलब्ध गराउने जनाएको छ । यस अघि उपलब्ध मोटरसाइकलमा १४९ र २२३ सीसी क्षमताको ओएचसी ४ स्ट्रोक इन्जिन रहेको थियो । उक्त इन्जिनले अधिकतम १८.१ पीएस पावर प्रदान गर्थो भने यी दुबै मोटरसाइकलको इन्जिन पर्फमेन्समा सुधार गरिएको कम्पनीले जनाएको छ । यी दुवै मोटरसाइकलमा ५ स्पीड गियरबक्स दिइएको छ ।
१२ लिटरको इन्धन ट्याङ्की दिइएको बाइकलाई आरामदायी बनाउन कम्पनीले फ्रन्टमा युएडी फर्क र पछाडि मोनोसक सस्पेन्सन दिएको छ । बाइकमा १८ इन्चको ह्वील दिइएको छ । यसका साथै दुवै ह्वीलमा डिस्क ब्रेक दिइएको छ ।
२१०० एमएम लम्बाई, ७७५ एमएम चौडाई र १२१५ एमएम उचाई रहेको बाइकमा १३५० एमएमको ह्वीलबेस प्रदान गरिएको छ ।
कम्पनीले भीआर १५० को मूल्य ४ लाख ६५ हजार रुपैयाँ तोकिएको छ भने भीआर २२३ को मूल्य ५ लाख ५८जार रुपैयाँ तोकेको जनाएको छ । यसअघि १५० सीसीको मूल्य ४ लाख १० हजार र २२३ को मूल्य ४ लाख ९९ हजार रुपैयाँ रहेको थियो ।

