काठमाडौं । बजाजको आधिकारीक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले यसअघि विक्री बन्द गरेको तीन मोडललाई पुनः विक्री सुरु गरेको छ । कम्पनीले एबीएस बीनाको पल्सर एनएस १६०, पल्सर एनएस २०० र पल्सर २२० एफलाई नन् एबीएस भेरियन्टको विक्री सुरु गरेको हो ।
कम्पनीले कार्तिक १६ गते प्रकाशन गरेको नयाँ मूल्यसूचीमा यी तीनवटै मोडलको मूल्य प्रकाशन गरेर यी मोडललाई पुनः विक्रीमा ल्याएको हो । यसअघि पल्सर २२० एफ र एनएस १६० एबीएस सहित एउटा मात्रै भेरियन्ट विक्रीमा थियो । अब यी मोडल पनि एबीएस र नन् एबीएस भेरियन्टमा उपलब्ध रहेका छन् ।

कम्पनीले थपेको नयाँ भेरियन्ट एबीएस बीनाको पल्सर एनएस १६० को मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ भने एबीएस सहितको मूल्य ३ लाख १९ हजार ९०० रुपैयाँ रहेको छ । यी दुई भेरियन्टमा २० हजारको फरक पाउन सकिन्छ ।

त्यसैगरी कम्पनीले एबीएस बीनाको पल्सर २२० एफको मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ कायम गरेर विक्री सुरु गरेको छ । कम्पनीले एबीएस सहितको भर्सनको मूल्य ३ लाख ६१ हजार ९०० रुपैयाँ कायम गरेर विक्री गर्दै आएको थियो । यी दुई भेरियन्टमा ३२ हजार रुपैयाँको फरक पाउन सकिन्छ ।

बजाजले पल्सर एनएस २०० को नन् एबीएस भेरियन्टको मूल्य पनि ३ लाख २९ हजार ९०० रुपैयाँ कायम गरेर पुनः विक्री सुरु गरेको हो । यसअघि कम्पनीले एबीएस र एबीएस वीथ एफआई मोडल विक्री गर्दै आएकोमा सबैभन्दा कम मूल्यको नन् एबीएस मोडल पनि बजारमा ल्याएर ग्राहकको माग सम्बोधन गर्न खोजेको छ ।

एनएस २०० एबीएसको मूल्य ३ लाख ६७ हजार रुपैयाँ रहेको छ भने एबीएस वीथ एफआई भर्सनको मूल्य ३ लाख ९३ हजार ९०० रुपैयाँ कायम गरेको छ । टप भेरियन्टसँग नयाँ भेरियन्टको मूल्य ६४ हजार रुपैयाँ फरक रहेको छ ।
यी नयाँ भेरियन्ट बजारमा आएसँगै ग्राहकले आफ्नो बजेट अनुसारको मोटरसाइकल खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।


