बजाज अटोले पल्सर २५० अर्को महिना सार्वजनिक गर्ने भएको छ । पल्सरको रेगुलर सिरिजको साथ एड्भेन्चर टुरिङ मोटरसाइकल समेत एकै पटक सार्वजनिक गर्ने तयारीमा कम्पनी जुटेको भारतीय मिडियाले उल्लेख गरेका छन् । नयाँ बाइक सार्वजनिक पछि पल्सर सिरिजमा दुई नयाँ मोडल थपिने छन् ।
केटीएम डुक २५० को इन्जिनमा नयाँ पल्सर २५० आउने जनाइएको छ । यद्यपी नयाँ बाइक आउने बिषयमा कम्पनीका मेनेजिङ डाइरेक्टर राजिव बजाजले पुष्टी गरेपनि बाइकको अन्य तथ्य भने सार्वजनिक गरेका छैनन् ।
बजाजको २५० सीसी रोड स्टारमा केटीएम डुक २५० कै इन्जिन प्रयोग गरिएको छ । नयाँ पल्सर २५० सिरिजमा पनि सोही इन्जिन प्रयोग हुने बताइएको छ । केटीएम डुक २५० मा भएको इन्जिन २४८.८ सीसी सिंगल सिलिन्टर लिक्वीड कुल्ड मोटर रहेको छ । जसले ३० बीएस पावर र २४ एनएम टर्क जेनेरेट गर्छ ।
बजाजको पल्सर २५० मा बीएस–६ इन्जिन हुने अनुमान गरिएको छ । कम्पनीले नयाँ मोटरसाइकलमा स्ट्यान्डर्ड सुरक्षा विशेषता समावेश गर्ने जनाएको छ ।
पल्सर २५० ले केही समय अघि सार्वजनिक भएको हिरो एक्सप्लस २०० र रोयर इलफिल्डको हिमालयनसँग प्रतिस्पर्धा गर्ने छ । २५० सीसी इन्जिन सेगमेन्टमा उपभोक्ताको आकर्षण रहेकाले बजाजले पनि यो सेगमेन्टमा मोटरसाइकल ल्याउन लागेको हो ।
साथै, लामो समयदेखि पल्सर सिरिजमा नयाँ बाइक नआएकाले कम्पनीले नयाँ सेग्मेन्टमा पल्सरलाई प्रबेश गराउन २५० ल्याउन लागेको हो । केही महिना अगाडि क्रुज बाइक सेग्मेन्टमा एभेन्जर १६० र डोमिनार ४०० बजारमा ल्याएको बजाजले ल्याउने पल्सर २५० मा धेरै अपेक्षा राखेको जनाइएको छ ।

