काठमाडौं । पेट्रोलियम पदार्थबाट चल्ने साधनको विकल्पमा आउन सक्ने सबै किसिमका ऊर्जाको स्रोत र त्यसबाट चल्ने सवारीसाधन निर्माणमा कम्पनीहरु लागि परेका छन् । त्यसैले त विश्वमा विद्युतीय, सिएनजी र हाइड्रोजनबाट चल्ने साधनको विकास तिब्र गतिमा भइरहेको छ ।
यस्तोमा भारतीय बजारमा निकै चर्चा कमाइ रहेको सिएजीबाट संचालन हुने चार पाङ्ग्रे साधनलाई हेरेर मोटरसाइकलमा पनि काम सुरु हुने देखिएको छ । भारतीय उत्पादक बजाजले सीएनजीको प्रयोग गरेर चल्ने मोटरसाइकल ल्याउने संकेत गरेको हो ।
भारतीय मिडियाले प्रकाशन गरेको एक रिपोर्ट अनुसार बजाज अटोका प्रबन्ध निर्देशक राजीव बजाजले सीएनजीबाट चल्ने मोटरसाइकल ल्याउने बताएका छन् ।
राजीवले भारतीय वित्त मन्त्रीसँग भेटेरै सरकारले सीएनजी मोटरसाकइलमा कर छुटको ब्यवस्था गर्ने हो भने आफुहरु सीएनजीबाट चल्ने मोटरसाइकल उत्पादन गर्न तयार रहेको बताएका थिए ।
बजाजले सन् २००६ मा नै सीएनजीबाट चल्ने मोटरसाइकल ल्याउने संकेत दिएको थियो । त्यति बेला राजीवले आफ्नो नयाँ मोटरसाइकल दुई प्रकारका इन्धनबाट चलाउन सकिने बताएका थिए । तर, हालसम्म कम्पनीले सीएनजीबाट चल्ने मोटरसाइकल ल्याएको छैन ।
के हो सीएनजी ?
सिएनजी एक ग्यास इन्धन हो । मिथेन ग्यासलाई कम्प्रेस गरेर सिलिन्डरमा राखेर यसबाट सवारी साधन चलाउन सकिन्छ । सीएनजीलाई ‘कम्प्रेस नेजुरल ग्यास’ भनेर बुझिन्छ ।
भारतमा सीएनजी कारहरु धेरै उपलब्ध छन् । नेपालमा भने हालसम्म सीएनजीबाट चल्ने कारहरु आएका छैनन् । तर, धरानमा तीन पाङ्ग्रे साधन भने सीएनजीबाट गुढ्दै आएका छन् ।

