काठमाडौं । बजाज मोटरसाइकलले आफ्नो पछिल्लो उत्पादन फ्रिडम मोडल अन्तर्राष्ट्रिय बजारमा पठाउन सुरु गर्ने भएको छ । कम्पनीले निर्यात सुरु गर्ने घोषणासँगै ६ देशको नाम पनि सार्वजनिक गरेको हो ।
बजाजले उत्पादन गरेको संसारकै पहिलो सीएनजी मोटरसाइकल सुरुमा निर्यात हुने देशहरुमा इजिप्ट, तान्जेनिया, पेरु, कोलम्बिया, बंगलादेश र इन्डोनेशिया हुन् । यी देशमा केही समयपछि निर्यात सुरु हुने बजाजको भनाइ छ ।
बजाज फ्रिडममा १२५ सीसी क्षमताको पेट्रोल इन्जिन पनि उपलब्ध छ । यसलाई सीएनजी र पेट्रोल दुबै इन्धनको प्रयोगबाट संचालन गर्न सकिन्छ । तर, एक पटकमा एउटा मात्रै इन्धनको प्रयोग गर्नु पर्ने हुन्छ ।
भारतमा उत्पादन भएका सबै जसो मोटरसाइकल नेपाल आउने गर्छन् । यस्तोमा भारतमा बिक्री सुरू भएको र अन्य ६ देशमा निर्यात पनि सुरु हुन लागेको बजाज फ्रिडमको चर्चा नेपालमा हुनु स्वभाविक हो । यद्यपि सीएनजीको कुनै किसिमको पूर्वाधार नेपालमा नभएको कारण यो मोटरसाइकल तत्काल नेपाल आउने सम्भावना छैन ।
यसमा पेट्रोल हाल्ने अप्सन भएपनि एक पटकमा २ लिटर मात्रै पेट्रोल हाल्न सकिन्छ । यस्तोमा यो मोटरसाइकल नेपाली उपभोक्तालाई राम्रो च्वाइस तत्काल हुँदैन ।