काठमाडौं । हुन्डाई भेन्यू अहिले निकै धेरै चर्चामा छ । नेपालमै पहिलो कार एसेम्बली लाइनअप निर्माण गरेर ग्लोबल ब्राण्डले कार उत्पादन थाल्नु आफैँमा चर्चा योग्य कुरा हो ।
लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी मोटरले उत्पादन गरेको हुन्डाई भेन्यू फेसलिफ्ट मोडल अहिले बजारमा उपलब्ध छ । यसलाई कम्पनीले मेड इन नेपाल क्याम्पेनसहित बिक्री गर्दै आएको छ । करिब ८ प्रतिशतले मूल्य घटाएर बिक्री सुरू भएको भेन्यू हरेक कोणबाट एक दम्दार एसयूभी हो ।
प्रधानमन्त्रीले वैशाख २७ गते उद्घाटन गरेसँगै यसको व्यवसायिक उत्पादन सुरू भएको थियो । निकै सुविधा सम्पन्न प्लाण्ट निर्माण गरेर उत्पादन भएको पहिलो मोडल मेरोअटो टीमले टेष्ट ड्राइभ गरेको थियो ।
एक्स्पेरियन्स
भारतमा उत्पादन भएको भेन्यू लामै समय चलाएको अनुभव भएका कारण मेड इन नेपाल भेन्यू चलाएर केही लेख्न थप सहज भएको छ । लक्ष्मी मोटरले कोरियाबाटै भेन्यूको इन्जिन ल्याउने भएको कारण इन्जिनको पर्फमेन्समा कुनै कमी छैन । अझ इन्जिन रिफाइन भएको कारण निकै मिठो आवज आउँछ ।
क्याबिनमा बाहिरको आवाज आउँदैन । तपाईं ईभीको क्याबिनलाई साउन्ड प्रुफ भन्नु हुन्छ भने यसको क्याबिन सुपर साउन्ड प्रुफ पाउनु हुन्छ । अझ आइडियल कन्डिसनमा त गाडी स्टार्टमा छ वा छैन थाहा पाउन सकिँदैन ।
नयाँ भेन्यूमा प्रयोग भएको स्मार्ट क्लच सिस्टमले इन्धन खपत घटाउने छ । यदि तपाईंले गाडी रोक्नु भयो भने ३ सेकेण्डमा गाडी आफैँ साइलेन्स मोडमा जान्छ । जब चालकले क्लचमा खुट्टा राख्छ, त्यसपछि आफैँ स्टार्ट हुन्छ । मेरो लागि यो फिचर एकदमै राम्रो लाग्यो ।
ग्राउन्ड क्लियरेन्समा सुधार भएको छ । यसअघि उपलब्ध भेन्यूमा १९० एमएमको ग्राउन्ड क्लियरेन्स थियो । त्यसैले जस्तो सुकैबाटोमा चलाउँदा पनि समस्या भोग्न पर्दैन । फ्रन्ट ह्वील ड्राइभ भएको कारण हिलो र चिप्लो बाटोमा भने केही समस्या पक्कै आउँछ ।
गाडीको स्टेरिङ ह्वील पुरानै रहेको छ । ड्यासबोर्डदेखि सेन्टर कन्सोलमा कुनै परिवर्तन गरिएको छैन । कम्याक्ट एसयूभीको एसीदेखि सिट कम्फर्टसम्मले मन जित्न सफल हुन्छ ।
सुधारिएका कुरा
यसको फ्रन्ट फेसिया पहिलेकोभन्दा ठूलो छ । हेडलाइटको डिजाइनलाई निरन्तरता दिइएको छ । एलईडी डीआरएलको प्रयोग फरक किसिमले गरेको देखिन्छ ।
पछाडिको भागमा व्यापक परिमार्जन पाउन सकिन्छ । कनेक्टेड लाइटबार, नयाँ डिजाइनको बम्पर र स्कीड प्लेटले भेन्यूको ओभरअल लुक्समा नै निकै ठूलो फरकपन ल्याएको छ ।