भारतको चर्चित टु ह्वीलर निर्माता बजाज अटोले ब्याट्रीबाट सञ्चालन हुने इलेक्ट्रीक टु ह्वीलर निर्माण गर्ने तयारी थालेको छ ।
इलेक्ट्रीक सवारीसाधनको उत्पादनमा देखिएको प्रतिस्पर्धालाई ध्यानमा राख्दै बजाजले २०२० सम्ममा इलेक्ट्रीक टु ह्वील सार्वजनिक गर्ने तयारी गरेको हो । बजाज अटोका एमडी राजीव बजाज भन्छन्, ‘बजारमा इलेक्ट्रीक सवारीसाधनले निक्कै ठूलो हिस्सा ओगटेको छ । कम्पनीले हालसम्म नयाँ भेरियन्टको उत्पादनलाई जोड दिएको छैन । यो कार्य सुरुवातामा निक्कै चुनौतीपूर्ण हुने अनुमान गरेका छौं’ उनले भने ।
दुईपाङ्ग्रे इलेक्ट्रीक भेइकलको उत्पादनपश्चात् चार र तीन पाङ्ग्रेसवारी साधनको उत्पादनलाई जोड दिनेछौँ, बजाजले बताए ।
इलेक्ट्रीक स्कुटर र मोटरसाइकलको उत्पादनमा दृढताकासाथ लाग्ने बताउँदै उनले उत्पादित ई–भेइकलले राम्रो बजार लिने आशा लिएका छन् ।
बजाज कम्पनीले लामो समययता स्कुटरको उत्पादनलाई निरन्तरता दिन सकेको छैन । बजाजको सबैभन्दा लोकप्रिय चेतक स्कुटर बन्द भएको निकै समय भइसकेको छ । अटोमेसनपश्चात् नयाँ स्कुटर आएसँगै चेतकलाई बजाजले बजारबाट फिर्ता लिएको थियो ।
पछिल्लो समय बजाजले चेतकलाई पुनः अपडेट गरी सार्वजनिक गर्ने योजना बनाएको छ । कम्पनी चेतकलाई नयाँ सेग्मेन्टमा सार्वजनिक गर्दै इलेक्ट्रीक टु ह्वीललाई बजारीकरण गर्ने तयारीमा गरेको छ ।
‘५० हजार रुपैयाँका लागि १०० सीसी क्षमताका स्कुटर निर्माण नगरिने बताइएको थियो । तर, बजाजले मोटरसाइकल, साइकल वा स्कुटरको उत्पादन नै बन्द गर्ने भनेको थिएन’ बजाजले भने ।
इलेक्ट्रीक भेइकलको निर्माणबारे बोल्दै उनले भारतमा बीएस–भी उत्सर्जन नियम लागू हुनुपूर्व ई–प्रडक्ट सार्वजनिक गर्ने जानकारी दिएका हुन् । बजाजले उत्पादन गर्ने नयाँ प्रडक्ट संसारकै उत्कृष्ट मोडलअन्तर्गत पर्ने उनको दाबी छ । यसकासाथै बजाजले इलेक्ट्रीक थ्री ह्वीलरको निर्माणलाई जोड दिइरहेको छ ।
कम्पनीले सार्वजनिक गरेको ‘क्यूट’ इलेक्ट्रीक भर्जनले अन्तर्राष्ट्रिय बजारमा राम्रो प्रभाव जमाइरहेको छ । भारतीय बजारमा इलेक्ट्रीक सवारीसाधनप्रतिको आकर्षण तिव्र गतिले बढ्दै गएको छ ।
अन्तर्राष्ट्रिय कम्पनीले २०२० सम्ममा ई–सवारीसाधन सार्वजनिक गर्ने घोषणा गरेको समयमा बजाजले यही मौकालाई सदुप्रयोग गर्दै नयाँ उत्पादनलाई जोड दिने योजना बनाएको हो ।
यस्तोमा भारतीय बजारमा नयाँ चर्चा सुरु भएको छ । के बजाजले आफ्नो लोकप्रिय मोडल पल्सरलाई इलेक्ट्रीक भर्सनमा बजारमा उतार्ला ? यसको उत्तरका लागि भने अझै केही समय पर्खनुपर्ने छ ।


