फर्कियो ‘पल्सर एनएस-२००’ को सस्तो भेरियन्ट, यस्तो छ मूल्य

काठमाडौं । बजाजको आधिकारीक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले कम मूल्यको पल्सर एनएस-२०० लाई पुनः बजारमा ल्याएको छ । युवाहरुको पहिलो रोजाईमा पर्न सफल पल्सर एनएस-२०० को रेगुलर मोडल बजारमा फर्किएको हो ।

सन् २०२० को मध्यतिरबाट कम्पनीले एबीएस र एफआई विथ एबीएस भेरियन्ट मात्रै विक्री गर्दै आएकोमा पुन एबीएस र एफआई विनाको मोडल विक्री सुरु गरेको हो । बजारमा मोटरसाइकलको मूल्य अत्याधिक बढेको समयमा फर्किएको नयाँ भेरिन्टको मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

बजारमा उपलब्ध अधिकांश १५० सीसीका मोटरसाइकलको मूल्य नै ३ लाख ५० हजारभन्दा माथि पुगेको समयमा बजाजले कम मूल्यमा नै २०० सीसीको मोटरसाइकल विक्री गर्ने योजना सहित यसलाई बजारमा ल्याएको अनुमान गर्न सकिन्छ ।

योसँगै कम्पनीले बजाज एनएस २०० को तीन भेरियन्ट बजारमा विक्री गर्ने भएको छ । तीन भेरियन्टमा विक्री हुने एनएस-२००, एनएस-२०० एबीएस र एनएस-२०० एफआई/एबीएसको क्रमश ३ लाख २९ हजार ९०० रुपैयाँ, ३ लाख ६९ हजार ९०० रुपैयाँ र ३ लाख ९५ हजार ९०० रुपैयाँ रहेको छ ।

बजाज एनएसमा २०० सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन रहेको छ । यसले अधिकतम २४.५ पीएस पावर तथा १८.३ एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।


Back_to_top