काठमाडौं । अहिले प्रायःजसो पश्चिमा र पूर्वी एशियाली देशहरुले युक्रेनमा रुसी आक्रमणको बिरोध गरिरहेका छन् ।
करिब एक हप्तादेखि जारी रुस-युक्रेन युद्धका तरङगहरु ती देशमा मात्र सिमित नभएर विश्वभर फैलिन थालेका छन् । त्यसैले युक्रेनमाथिको रुसी आक्रमण विरुद्ध यी देशहरुले कडा अडान लिएका हुन् ।
विश्वकै धेरै कार उत्पादन गर्ने जापानी ब्राण्डहरुले रूसमा सवारीको निर्यात रोकेका छन् भने एयरलाइन्सहरूले युरोपको लागि उडानहरू स्थगित गरेका छन् ।
विश्वको सबैभन्दा धेरै कार उत्पादन गर्ने टोयोटाले बिहीबार मस्को विरुद्ध पश्चिमी नेतृत्वको प्रतिबन्धले विभिन्न आपूर्ति शृङ्खलाहरू बन्द गरेकोले रूसमा निर्यात र उत्पादन रोक्ने निर्णय गरेको हो ।
त्यसैगरी, होन्डा र माज्दाले पार्टपुर्जा खरिदमा समस्या आएको भन्दै रुसमा निर्यात रोक्ने घोषणा गरेका हुन् ।
मित्सुवीशीले रूसमा उत्पादन र विक्री निलम्बन गर्न सक्ने जनाएको छ । निसानले त्यहाँको अवस्थालाई निगरानी गर्दै कदम चाल्ने बताएको छ ।
‘युक्रेनका जनताको सुरक्षाको लागि ठूलो चासोका साथ युक्रेनमा भइरहेको घटनाक्रमलाई हेरिरहेका छौं र सकेसम्म चाँडो शान्ति सुरक्षा फर्कने आशा गछौं,’ टोयोटा मोटर कम्पनीले भनेको छ ।
टोयोटा रुसमा सर्वाधिक सफल जापानी ब्रान्ड हो, जसले आफ्नो सेन्ट पिटर्सबर्ग प्लान्टमा करिब ८० हजार सवारी साधन उत्पादन गर्छ । जसमा २ हजार कर्मचारीहरु कार्यरत छन् ।
ब्रान्डहरू रूसबाट आफूलाई टाढा राख्दै
रुसले जापानी एयरलाइन्सहरू आफ्नो हवाइ क्षेत्रमा प्रतिबन्ध भने लगाएको छैन । यद्यपी, उसको बिरुद्धमा रहेका क्यानाडा र युरोपियन युनियनका जहाजहरुमा भने मस्कोले बदलामा उडान प्रतिबन्ध लगाएको छ ।
त्यसैगरी, अमेरिकाले पनि आफ्नो आकाशबाट रुसी उडानमा प्रतिबन्ध लगाएको छ । एप्पल, अमेजन, एचएन्डएम र नाइके लगायत दर्जनौं पश्चिमी ब्रान्डहरूले विक्री रोक्न रसियाबाट आफूलाई टाढा राख्ने बताएका छन् ।
तर, एशियाका प्रमुख व्यवसायहरु यस संकटमा स्थिर रहेका छन् । जापान, अमेरिकाको नजिकको सहयोगीले यस क्षेत्रका सरकारहरू बीच मस्कोको विरूद्ध प्रतिक्रिया सुरु गरेका छन् ।
जापान बाहेक, दक्षिण कोरिया, सिंगापुर र ताइवानले मात्र मस्को विरुद्ध प्रतिबन्धका घोषणा गरेका छन् ।


