काठमाडौं । बजाजको बहुप्रतिक्षित इलेक्ट्रीक स्कुटर चेतकको लागि कम्पनीले काठमाडौंको नक्सालमा छुट्टै शोरुम बनाउने भएको छ । कम्पनीले चेतक इलेक्ट्रीक स्कुटर नेपालमै नम्बर १ बिक्री हुने मोडल बनाउने गरी लन्चिङको तयारी गरेको जनाएको छ ।
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलाशचन्द एण्ड कम्पनीले चेतक इलेक्ट्रीक स्कुटरको बिक्री चाँडै सुरु गर्ने जानकारी दियो । लामो समयदेखि नेपाली सडकमा चेतक स्कुटरको परीक्षण भइरहेको कम्पनीको भनाइ छ ।
भारतमा पछिल्लो दुई महिना चेतक सर्वाधिक बिक्री हुने स्कुटर बनेको छ । चेतकले ओला र टीभीएसलाई पछि पार्दै सर्वाधिक बिक्री हुने स्कुटर भएको हो । बजाजले डिसेम्बर २०२४ मा १८ हजार २७६ यूनिट स्कुटर बिक्री गरेको थियो ।
भारतीय बजारमा विभिन्न भेरियन्टमा उपलब्ध रहेको चेतकको कुन भेरियन्ट नेपालमा सार्वजनिक हुन्छ भन्ने जानकारी बाहिर आएको छैन । अहिले बजाजका सबै मोटरसाइल नेपालमै एसेम्बल हुँदै आएका छन् । यस्तोमा बजाजले चेतक नेपालमै एसेम्बल गर्छ कि तयारी लिएर आउँछ अहिल्यै एकिन जानकारी प्राप्त भएको छैन ।
बजाजले पछिल्लो पटक सार्वजनिक गरेको चेतक स्कुटर ३५०१, ३५०२ र ३५०३ भेरियन्ट उपलब्ध छ । यी स्कुटरको मूल्य १ लाख २० हजार भारतीय रुपैयाँबाट सुरु हुन्छ ।
बजाजले चेतक स्कुटरको नयाँ मोडलमा नयाँ फ्रेमको प्रयोग गरेको छ । नयाँ चेतकमा ३.५ किलोवाट क्षमताको ब्याट्री प्रयोग भएको छ । कम्पनीले फ्लोरवोर्डमा ब्याट्री प्लेस गरेसँगै बुट स्पेसमा वृद्धि भएको छ । यसको रेन्ज १५३ किलोमिटर पुगेको कम्पनीको दावी छ ।
यसका अलावा स्कुटरमा टीएफटी टच स्क्रीन डिस्प्ले, स्मार्ट कनेक्ट फिचर, म्यूजिक कन्ट्रोल, म्याप जस्ता फिचर थप गरिएको छ ।