काठमाडौं । बीवाइडी एटो-थ्री र ओमोडा ई-फाइभसँग सिधा प्रतिस्पर्धा गर्न प्रोटोनले नयाँ इलेक्ट्रीक एसयूभी नेपाल ल्याउने भएको छ । प्रोटोनको ‘इमास-सेभेन’ केही दिन भित्रै नेपाल आउने भएको हो ।
‘अहिले इमास-सेभेन युनिट नेपालको लागि हिडिसकेको छ । अर्को साताको अन्तिमसम्म काठमाडौं आइपुग्छ’, आधिकारीक बिक्रेता जगदम्बा मोटर्स स्रोतले मेरोअटासँग भन्यो ।
अहिले स्पोर्टी क्रसओभर एसयूभी सेग्मेन्टमा निकै राम्रो संख्यामा विद्युतीय गाडी बिक्री भइरहेकाले इमास-सेभेन चाँडै नेपाल ल्याउन लागेको हो । प्रोटोनले केही दिनअघि मात्रै मलेशियामा पनि इमास-सेभेन बिक्री सुरु गरेको थियो ।
चीनमा जिलीले बिक्री गर्दै आएको ग्यालेक्सी ई-फाइभलाई नै प्रोटोनको लोगो राखेर ल्याउन लागिएको हो । नेपाल आउने प्रोटोन इमास-सेभेन पनि चीनमै उत्पादन भएर नेपाल आउने छ ।
मलेशियन ब्राण्ड प्रोटोनमा जिली ग्रुपको ५१ प्रतिशत लगानी रहेको छ । त्यसैले आफ्नो ग्यालेक्सी ई-फाइभलाई प्रोटोन इमास-सेभेन नामबाट ल्याउन लागेको हो । दक्षिण एशियासहितका राइट ह्याण्ड ड्राइभ भएका देशमा प्रोटोन इमास-सेभेन नामबाटै यो एसयूभी बिक्री हुनेछ ।
मलेशियामा बिक्री सुरु भएको इमास-सेभेनमा फ्रन्ट ह्वील ड्राइभ १६० किलोवाट क्षमताको पावरफुल मोटर छ । यसको पीकटर्क भने ३२० न्यूटन मिटर छ । इमास-सेभेनले शून्यबाट १०० को स्पीड भेट्टाउन ६.९ सेकेन्ड मात्रै लगाउने छ । एसयूभीको टप स्पीड १७५ किलोमिटर प्रतिघन्टा छ ।
इमास-सेभेनमा भेरियन्ट अनुसार ४९.५२ र ६०.२२ किलोवाट आवर क्षमताको ‘एजिस सर्ट ब्लेड ब्याट्री’ दिइएको छ । यी दुई ब्याट्रीको रेन्ज क्रमशः ३४५ र ४१० किलोमिटर रहने डब्लूएलटीपी टेस्टले देखाएको छ । प्रोटोनका अनुसार उक्त ब्याट्रीलाई ९२१ पटक पुरै चार्ज र डिस्चार्ज गर्दा ९०.५ प्रतिशत ब्याट्री हेल्थसहित ४ लाख किलोमिटर सजिलै गुडाउन सकिनेछ ।
इमास-सेभेन एसयूभीमा टु स्पोक स्टेरिङ ह्वील, १०.२ इन्चको एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, १५.४ इन्चको सेन्टर इन्फोटेनमेन्ट स्कृन, १३.८ इन्चको हेडअप डिस्प्ले, वायरलेस फोन चार्जर पाउन सकिन्छ ।
प्रोटोनले यसमा दुई लेभलको सेन्टर कन्सोल, स्टेरिङ कोलुममा दिइएको गियर सेलेक्टर, पानारोमिक सनरुफ, २५६ कलरको एम्बीयन्ट लाइट, पावर टेलगेट जस्ता फिचर समेटेको छ । भेन्टीलेटेड एण्ड पावर फ्रन्ट सिट, १६ वटा स्पीकर र लेभल २ एडास फिचर यसमा दिइएको छ ।
सी सिग्मेन्ट एसयूभीको रुपमा बजारमा आएको इमास-सेभेनको लम्बाइ ४६१५ एमएम, चौडाइ १९०१ एमएम र उचाइ १६७० एमएम छ । २७५० एमएम लामो ह्वीलवेस रहेको एसयूभीमा १७३ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।
मलेशियन बजारमा २३ हजारदेखि २७ हजार अमेरिकी डलर मूल्य तोकेर बिक्री सुरु भएको इमास-सेभेन नेपाली बजारमा ५७ लाखदेखि ६५ लाख रुपैयाँसम्म मूल्य तोकेर बिक्री सुरु हुने अनुमान गरिएको छ । यही मूल्यको आसपासमा ओमोडा ई-फाइभ र बीवाइडी एटो-थ्री पनि बिक्री हुँदै आएका छन् ।