काठमाडौं । मोटरसाइकल चढिरहेका, आफूलाई अपग्रेड गर्न चाहने वा मध्यम आए भएका व्यक्ति । उनीहरूले मोबिलिटीका लागि चारपाँग्रे सवारी साधन किन्ने योजना बनाएका हुन्छन् । तर, उनीहरूसँग एकैपटक पूरै पैसा तिरेर गाडी किन्न सक्ने हैसियत हुँदैन ।
यस्तोमा अधिकांशले किस्ताबन्दी सुविधामा गाडी किन्न खोज्छन् । तिनै ग्राहकलाई सहजीकरण गर्न विभिन्न संस्थाहरूले फाइनान्स सुविधा उपलब्ध गराउँछन् ।
सवारी किन्न चाहने ग्राहकलाई हाल चार प्रकारका संस्थाले हायर पर्चेज कर्जा दिँदै आएका छन् । हाल ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक, ‘ग’ वर्गका फाइनान्स कम्पनी र हायर पर्चेज कम्पनीले सवारी साधन किन्न ऋण दिन्छन् ।
जसमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी गर्ने दायारा फराकिलो छ । बैंक तथा वित्तीय संस्थाले व्यापार, चालु पूँजी कर्जा, व्यक्तिगत आवास, रियल ईस्टेट विपन्न, कृषि, उत्पादनमूलक, मार्जिन लेन्डिङ, हायर पर्चेज लगायत १२ प्रकृतिका कर्जा लगानी गर्न पाउँछन् । तर, हायर पर्चेज कम्पनीले सवारी साधनमा मात्र कर्जा लगानी गर्न पाउँछन् । यी कम्पनीले अन्य क्षेत्रमा ऋण दिन पाउँदैनन् ।
तुलनात्मक रूपमा वाणिज्य बैंकबाट ऋण लिँदा सबैभन्दा सस्तो पर्छ भने हायर पर्चेज कम्पनीबाट ऋण लिँदा महँगो पर्छ ।
ब्यालेन्स सिटका आधारमा पनि हायर पर्चेज कम्पनी सबैभन्दा साना हुन्छन् । न्यूनतम चुक्ता पूँजी ३० करोड रुपैयाँ मात्रै छ । जबकि वाणिज्य बैंकको न्यूनतम चुक्ता पूँजी ८ अर्ब छ ।
त्यस्तै, तीनै वर्गका बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत तथा संस्थागत निक्षेप संकलन गर्न पाउँछन् । हायर पर्चेज कम्पनीले निक्षेप संकलनै गर्न पाउँदैनन् ।
तुलनात्मक रूपमा बैंक तथा वित्तीय संस्थाभन्दा हायर पर्चेज कम्पनीबाट कर्जा लिन केही सहज हुन्छ । त्यस्तै, बैंकहरूले कर्जा लगानी नगर्ने दुईपाँग्रे सवारी साधनका लागि निर्विकल्प बनेका छन् हायर पर्चेज कम्पनी । तर, हायर पर्चेज कम्पनीको ब्याजदर भने केही महँगो पर्छ । हायर पर्चेज कम्पनीले बैंक तथा वित्तीय संस्थाबाटै ऋण लिएर कर्जा लगानी गर्ने हुन् । उनीहरूले बैंकलाई तिर्ने ४ प्रतिशतभन्दा बढी ब्याज लिन पाउँदैनन् ।
कुन संस्थाबाट ऋण लिँदा सस्तो पर्छ ?
पछिल्लो समय बैंकको ब्याजदर ३ वर्ष यताकै सस्तो छ । अर्थतन्त्रमा आएको शिथिलताका कारण कर्जामा माग नहुँदा बैंकहरूले डेढ वर्ष यता लगातार निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । जसकारण लागत घट्न घई बेसरेट निकै सस्तिएको छ । बेसरेट सस्तिएसँगै कर्जाको ब्याजदर पनि घटेको हो ।
गाडी किन्न ऋण दिने ४ प्रकारका संस्थाहरू मध्ये तुलनात्मक रूपमा वाणिज्य बैंकबाट ऋण लिँदा सबैभन्दा सस्तो पर्छ भने हायर पर्चेज कम्पनीबाट ऋण लिँदा महँगो पर्छ । यी चार प्रकारका संस्थामध्ये वाणिज्य बैंकहरूको बेसरेट सबैभन्दा कम छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार हाल वाणिज्य बैंकहरूको औसत बेसरेट ६.३४ प्रतिशत मात्र छ । बैंकहरूले त्यसमा न्यूनतम १ देखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडर कर्जा लगानी गर्छन् । जसअनुसार अहिले वाणिज्य बैंकबाट सवारी कर्जा लिँदा न्यूनतम साढे ७ प्रतिशतदेखि अधिकतम ११/११.५ प्रतिशत ब्याजदर पर्छ । यद्यपि, बेसरेट कम भएका बैंकको ब्याजदर औसतभन्दा सस्तो र बेसरेट धेरै भएकाको ब्याजदर महँगो छ । वाणिज्य बैंकहरूले स्थिर र परिवर्तन हुने दुवै ब्याजदरमा सवारी कर्जा दिन्छन् ।
त्यस्तै, विकास बैंकहरूको औसत बेसरेट ८.४२ प्रतिशत छ । विकास बैंकले पनि बैंकहरूको जस्तै अधिकतम ५ प्रतिशत प्रिमियम जोडेर ऋण दिन्छन् । हाल विकास बैंकबाट गाडी किन्दा न्यूनतम ब्याजदर औसतमा १२/१३ प्रतिशतसम्म पर्छ ।
त्यसैगरी, फाइनान्स कम्पनीहरूको बेसरेट ९.३२ प्रतिशत छ । फाइनान्स कम्पनीले पनि बेसरेटमा ५ प्रतिशतसम्म प्रिमियम जोडर ऋण दिन्छन् । फाइनान्स कम्पनीबाट सवारी कर्जा लिँदा अधिकतम १३/१४ प्रतिशतसम्म ब्याज तिर्नुपर्छ ।
हायर पर्चेज कम्पनीबाट ऋण लिँदा तुलनात्मक रूपमा महँगो पर्छ । हायर पर्चेज कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर ग्राहकलाई दिने हुन् ।
हालको व्यवस्था अनुसार कम्बस्चन र ईभी दुवै खालका सवारी किन्दा ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्छ भने ६० प्रतिशत ऋण पाइन्छ ।
हुलास फिन सर्भ हायर पर्चेज प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीर ठाकुर बैंकबाट ऋण लिएर ग्रहकलाई लगानी गरिने उनले बताए । हायर पर्चेज कम्पनीको ब्याजदर बैंककोभन्दा केही महँगो हुने उनी बताउँछन् ।
‘हायर पर्चेज कम्पनीले आफ्नो मात्रै पूँजीले व्यवसाय गर्न सक्दैनन् । बैंकबाटै ऋण लिएर ग्राहकलाई दिने हो । जसकारण बैंकको ब्याजभन्दा हायर पर्चेज कम्पनीको ब्याज केही महँगो पर्न जान्छ । यो स्वभाविक हो,’ उनले मेरो अटोसँग भने ।
उनले हायर पर्चेज कम्पनीले ४ प्रतिशतको स्प्रेडमा काम गर्ने बताए । ‘हामीले बैंकलाई तिर्ने ब्याजदर र ग्राहकसँग लिने ब्याजदरको अन्तर ४ प्रतिशभन्दा बढी हुँदैन,’ उनले भने ।
बैंकहरूले न्यूनतम सेवा शुल्क लिने भए पनि हायर पर्चेज कम्पनीले लिन नपाउने उनले बताए । उनका अनुसार अहिले हायर पर्चेज कम्पनीहरूले औसतमा १२/१३ प्रतिशतमा कर्जा दिइरहेका छन् । यद्यपि केही कम्पनीले १६ प्रतिशतसम्म ब्याज लिइरहेका पाइन्छ ।
कति र कसरी पाइन्छ हायर पर्चेज कर्जा ?
हायर पर्चेज कर्जा पाउनका लागि निश्चित शर्तहरू पूरा गर्नुपर्छ । नागरिकता, लाइसेन्स, धितो लगायत कागजातसहित प्रक्रिया पुर्याई आवेदन दिनुपर्छ ।
निवेदन प्राप्त भएपछि संस्थाहरूले कर्जा लगानी प्रक्रिया अघि बढाउँछन् । हालको व्यवस्था अनुसार कम्बस्चन र ईभी दुवै खालका सवारी किन्दा ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्छ भने ६० प्रतिशत ऋण पाइन्छ । उदाहरणका लागि ५० लाखको गाडी किन्ने हो भने २० लाख डाउन पेमेन्ट गर्नुपर्छ ३० लाख रुपैयाँ ऋण पाइन्छ ।
६० प्रतिशत ऋण दिन संस्थाहरूले गाडी किन्ने व्यक्ति सीआइसी (क्रेडिट इन्फरमेसन) रिपोर्ट, आम्दानी स्रोत हेर्छन् । कम्पनीको हकमा डीडीए रिपोर्ट समेत अध्ययन गर्छन् । साथै, धितो र जमानीकर्ता समेत राख्नुपर्छ । यद्यपि, पछिल्लो समय दुईपाँग्रेको हकमा केही कम्पनीहरूले नागरिकताकै आधारमा पनि कर्जा दिन थालेका छन् ।
संस्थाहरूले ग्राहककाे मासिक आम्दानीको ५० प्रतिशत बराबर किस्ता रकम हुने गरी ऋण दिन्छन्। साथै, बैंक तथा वित्तीय संस्थाले एकाघरको सदस्यको आम्दानीको आधारमा पनि कर्जा दिन सक्छन् । यद्यपि, त्यसरी ऋण दिने वा नदिने बैंकहरुको तजबिजमा भर पर्छ ।
कर्जा लिने व्यक्ति र रकम टुंगो लागिसकेपछि बैंक तथा हायर पर्चेज कम्पनीले आफूले प्रवाह गरेको कर्जा रकम फिर्ता गर्नका लागि कर्जा भुक्तानी तालिका तयार बनाउँछन् । सोही तालिका अनुसार ऋणीले साँवा-ब्याज भुक्तानी गर्नुपर्छ ।
हायर पर्चेज कर्जा लिँदा आफ्नो कर्जामा लाग्ने ब्याजदर, कर्जा भुक्तान अवधि, किस्ता रकम, पेनाल ब्याजदर र सोको गणना विधि जस्ता आधारभूत पक्षबारे सम्बन्धित हायर पर्चेज कम्पनीसँग स्पष्ट रूपमा जानकारी लिई कर्जा कारोबार गर्नुपर्दछ ।
ऋणीले तोकिएकै समय भित्र कर्जा भुक्तानी नगरी भाखा नाघेमा सम्बन्धित संस्थाले ऋण असुलीका लागि कानुनी प्रक्रिया अघि बढाउँछन् । सो क्रममा सवारीसाधन जफत गर्नेदेखि कालोसूचीमा राख्नेसम्म काम गर्छन् ।