हुन्डाईले भारतमा बेच्यो ९० लाख कार, नेपालमा लगायो एसेम्बल प्लाण्ट

काठमाडौं । भारतीय बजारमा ९० लाख युनिट कार बिक्री पूरा गर्दै हुन्डाईले आफूलाई बलियो देखाउन सफल भएको छ । भारतमा अहिले पनि दोस्रो धेरै उत्पादन र बिक्री हुने हुन्डाईका कारमा पर्छन् ।

भारतकै सबैभन्दा ठूलो आइपीओ जारी गर्दै पब्लिक कम्पनी बनेको कोरियन अटोमोबाइल ब्राण्ड हुन्डाईका कार निकै रुचाइएका छन् । कम्पनीले भारतमा आफ्नो उपस्थिति जनाएको ३० वर्ष प्रवेश गर्न लागेको छ । आगामी मे ६ तारिखमा कम्पनीले भारतमा आफ्नो स्थापना दिवस मनाउँदै छ ।

‘हामी हाम्रो सेवाको ३० वर्ष प्रवेश गर्नै लाग्दा ९० लाख कार बिक्री पूरा गरेको बताउन पाउँदा खुसी छौं । सन् १९९६ मा स्थापना भएदेखि नै हाम्रो प्रतिवद्धतामा दृढ थियौं । विविध चुनौतीका बाबजुद हामीले राम्रो गर्न सफल भएका छौं । ‘मेक इन इन्डिया, मेड अफर वर्ल्ड’ भन्ने कुरालाई ध्यानमा राखेर भोलिका दिनमा पनि काम गर्नेछौं,’ हुन्डाई इन्डियाका प्रमुख संचालन अधिकृत तथा संचालक तरुण गर्गले भने ।

हुन्डाई इन्डियाको निर्यात तीव्र गतिमा विस्तार भइरहेको छ । कम्पनीले सन् २०२५ लागेसँगै अहिलेसम्म २१.५ प्रतिशतले आफ्नो निर्यात वृद्धि गर्न सफल भएको छ ।

नेपालमा पनि बन्यो प्लाण्ट

भारतीय बजारमा उत्पादनसँगै नेपालमा हुन्डाईले बिक्री सुरू गरेको थियो । समयक्रमसँगै अहिले हुन्डाईको सुविधा सम्पन्न एसेम्बली प्लाण्ट नेपालमा पनि संचालनमा छ ।

हुन्डाईका गाडीहरूले सफलता पाउँदै जाँदा नेपाली बजारमा पनि एसेम्बल प्लाण्ट स्थापनाको वातावरण बनेको थियो । लक्ष्मी मोटर कर्पोरेसनले नेपालमा हुन्डाईका कारहरू एसेम्बल सुरू गरेको छ ।

अहिले हुन्डाई भेन्यू र क्रेटा मोडल एसेम्बल हुँदै आएको प्लान्टबाट निकट भविष्यमा नै अन्य थप मोडलहरू उत्पादन हुने बताइएको छ । नेपाली बजार तुलनात्मक रूपमा सानो मानिन्छ । त्यसका बाबजुद हुन्डाई नेपालमा कार सेग्मेन्टमा सर्वाधिक सफल ब्राण्ड हो ।


Back_to_top