काठमाडौं । विलिङको सहायक ब्राण्ड बाओजुनले ‘याप प्लस’ नामबाट नयाँ एसयूभी ल्याउने पक्का भएको छ । कम्पनीले ल्याउन लागेको याप प्लस यसअघि बजारमा उपलब्ध रहेको थ्री डोर याप मोडलमै आधारित रहेको मोडल हो ।
नयाँ इलेक्ट्रीक एसयूभी झट्ट हेर्दा सुजुकी जिम्नीको झल्को दिने खालको छ । यसको लम्बाई पनि जिम्नीको जस्तै ३९९६ एमएम, चौडाई १७६० एमएम र उचाई १७२६ एमएम रहेको छ । यसमा २५६० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।
चिनियाँ ब्राण्ड एसएआइसी ग्रुपको सबैभन्दा धेरै स्वामित्व रहेको बाओजुनको यहि मोडल भारतमा एमजी ब्राण्ड नेमबाट उत्पादन हुने तयारीमा छ । सन् २०२४ को अक्टोबरसम्ममा भारतीय बजारमा यही एसयूभी एमजीले बिक्री सुरु गर्ने रिपोर्टहरु यसअघि नै बाहिर आएका थिए ।
चीनमा याप प्लस मोडलको सुरुवाती मूल्य १४ हजार डलर हाराहारी हुने अनुमान गरिएको छ । बाओजुनले सार्वजनिक गरेको अन्य डिटेल अनुसार यसमा ७५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहने छ । अहिलेसम्म यसमा रहने ब्याट्रीको साइजका विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।

नयाँ लाइफ स्टाइल एसयूभीमा १६ इन्चको लो–रोलिङ रेसिस्टेन्स टायर दिइएको छ । साथै, यसमा ड्यूल पिस्टन ब्रेक क्यालिपरको प्रयोग भएको छ । यसको सहायताले ब्रेकले छिटो रेस्पोन्स गर्छ । छोटो दुरीमै गाडीलाई रोक्न सकिन्छ । जसले सुरक्षीत यात्रा गर्न सहयोग पुग्छ ।
विभिन्न ५ भेरियन्टमा उपलब्ध हुने यो एसयूभी रियर ह्वील ड्राइभ सिस्टमको साथ उपलब्ध हुनेछ । पूर्ण लोड बस्दा १५० एमएम ग्राउन्ड क्लियरेन्स हुने बताइएको एसयूभीको टर्निङ रेडियस ५.३५ मिटर रहेको छ ।

कम्पनीले यसलाई निकै स्टाइलिस एसयूभी बनाउन अगाडि र पछाडि नै एलइडी लाइटको भरपूर प्रयोग गरेको छ । प्राप्त जानकारी अनुसार यसमा १८४ मिटर परसम्म देख्ने हाइविम एलइडी लाइट रहेको छ ।

