गाडी किन्नेलाई झनै सस्तो, ५% भन्दा तल झर्यो ५ बैंकको बेसरेट

काठमाडौं । किस्ताबन्दीमा सवारी साधन खरिद गर्ने योजनामा रहेकाले महिनैपिच्छै झन्भन्दा झन् सस्तो ब्याजदरमा ऋण पाउने भएका छन् ।

वाणिज्य बैंकहरूको आधारदर (बेसरेट) महिनैपिच्छै घट्दै जाँदा सस्तो ब्याजदरमै ऋण पाइने अवस्था आएको हो ।

अहिले बैंकहरूको बेसरेट औसतमै ५.१२ प्रतिशतमा झरेको छ । बैंकको बेसरेट निकै तल आएसँगै बैंकको ब्याजदर पनि इतिहासकै सस्तो भएको छ । नेपाल राष्ट्र बैंकले वि.सं. २०६८ फागुनदेखि आधिकारिक रूपमा कर्जाको मासिक औसत ब्याजदर सार्वजनिक गर्न थालेको थियो । त्यसलाई आधार मान्दा अहिलेको बेसरेट सबैभन्दा कम हो ।

३ वर्ष अघि १५/१६ प्रतिशतसम्म पुगेको कर्जाको ब्याजदर हाल औसतमै ७ प्रतिशतमा झरेको छ । अझ बेसरेट कम भएका बैंकबाट ऋण लिँदा ५.५/६ प्रतिशतमै पाइने अवस्था छ ।

हाल बैंकहरूले बेसरेटमा अधिकतम ५ प्रतिशत प्रिमियम जोडर कर्जा लगानी गर्छन् । न्यूनतम प्रिमियम भने ग्राहकले गर्नसक्ने बार्गेनिङमा भर पर्छ । अहिले प्रणालीमा अधिक तरलता रहेकाले बार्गेनिङ गर्न सक्ने ग्राहकले न्यूनतम ०.५/१ प्रतिशत प्रिमियममै ऋण पाउने अवस्था छ । सो अनुसार बैंकबाट ५.५ देखि ७ प्रतिशत हाराहारीमा ऋण लिइरहेका छन् ।

त्यस्तै, बैंकहरूले स्थिर ब्याजदरमा ऋणन लिन चाहने ग्राहकलाई पनि सस्तै ब्याजदरमा अटो कर्जा उपलब्ध गराइरहेका छन् । बैंकहरूले अहिले ७ प्रतिशतदेखि ९/१० प्रतिशतसम्मको स्थिर ब्याजदरमा अटो कर्जा दिइरहेका छन् । बैंकहरूले ५ देखि ७ वर्षसम्मका लागि ऋण दिन्छन् ।

ब्याजदर जति कम भयो, ऋणीलाई उति नै फाइदा हुन्छ । सस्तो ब्याजमा ऋण लिएर गाडी किन्दा लागत समेत कम पर्न जान्छ । मासिक तिर्नुपर्ने ब्याजखर्च कम हुन्छ ।

५ बैंकको बेसरेट ५ प्रतिशत तल झ्यो

बैंकको बेसरेट जति कम भयो, उति सस्तोमा कर्जा पाइन्छ । हाल २० मध्ये ५ बैंकको बेसरेट ५ प्रतिशतभन्दा पनि तल झरेको छ ।

जसमा राष्ट्रिय वाणिज्यको ४.३६ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड ४.५२ प्रतिशत, एभरेष्ट ४.७३ प्रतिशत, नबिल ४.९१ प्रतिशत र नेपाल बैंकको ४.९८ प्रतिशत रहेको छ । प्रिमियममा बार्गेनिङ गर्न सके यी बैंकहरूबाट न्यूनतम साढे ५ प्रतिशतदेखि नै कर्जा पाइने अवस्था छ । यद्यपि, चार्टर्डले हाल अटो कर्जा प्रवाह गर्दैन ।

त्यस्तै, कृषि विकास, ग्लोबल, नेपाल इन्भेष्टमेन्ट मेगा, सानिमा, प्रभु, एनएमबी र माछापुच्छ्रे बैंकको बेसरेट ५ देखि ५.५ प्रतिशतको बीचमा छ । यी बैंकबाट पनि न्यूनतम ६/६.५ प्रतिशत हाराहामी कर्जा पाइने अवस्था छ ।

लक्ष्मी सनराइज, नेपाल एसबीआइ, सिद्धार्थ, कुमारी, सिटिजन्स, हिमालयन र प्राइम कमर्शियलको बेसरेट ५.५ देखि ६ प्रतिशतको बीचमा छ । यी बैंकबाट पनि ७/७.५ प्रतिशत ब्याजदरमै अटो लोन पाउन सक्ने अवस्था छ ।

२० बैंकमध्ये एनआइसी एशियाको बेसरेट सबैभन्दा महँगो ६.४१ प्रतिशत रहेको छ । तुलनात्मक रूपमा यो बैंकबाट ऋण लिँदा केही महँगो पर्छ ।


Back_to_top