काठमाडौं । नेपालको लागि बेनेलीको आधिकारीक बिक्रेता केटिएम इन्टरनेशनल मार्केटिङ प्रालिले बेनेलीको नयाँ एडभेञ्चर मोटरसाइकल ‘टीआरके २५१’ नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । यो मोटरसाइकल भारतमा भने २०२० को अन्त्यसम्ममा सार्वजनिक हुने बताइएको छ ।
एडभेञ्चर स्पोर्टस मोटरसाइकल पारखीको लागि बेनेलीले ल्याएको २५० सीसी सेग्मेन्टमा यो मोटरसाइकल निकै उपयोगि हुने कम्पनीले जनाएको छ । लामो यात्रामा रमाउनेहरुको लागि टीआरके २५१ नेपाली बजारमा उत्कृष्ट विकल्प रहेको केटिएम इन्टरनेशनलको दाबी छ ।
यसमा कम्पनीले २४९.२ सीसी क्षमताको सिंगल सिलिण्डर लिक्वीड कुल्ड, एफआई इन्जिन दिएको छ । उक्त इन्जिनले ९५०० आरपीएममा अधिकतम २५ पीएस पावर र ७५०० आरपीएममा २१ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ ।
सुरक्षाको लागि दुबै चक्कामा डिस्क ब्रेक दिइएको यो मोटरसाइकलमा डबल च्यानल एबीएस उपलब्ध रहेको छ । अन्तर्राष्ट्रिय बजारमा यसको प्रतिस्पर्धा होन्डा सिआरएफ सिरिजसँग भइरहेको छ ।
यसमा अपसाइड डाउन फर्क, ठूलो डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, २०० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स र १७ लिटर क्षमताको ठूलो इन्धन ट्याङ्की दिएको छ ।
केटिएम इन्टरनेशनल ट्रेडिङले यसलाई नेपाली बजारमा ६ लाख ३० हजार रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ ।
यसका अलावा कम्पनीले अहिले संसारभर चलिरहेको कोरोना भाइरसको संकट समाधान भएसँगै अन्य थप नयाँ मोडल नेपाली बजारमा ल्याएर बिक्री सुरु गर्ने जनाएको छ । कम्पनीले अबको महिना भित्री बेनेली १८० एसपनि नेपाली बजारमा ल्याउने जानकारी दिइसकेको छ ।
अहिले नेपालमा बेनेलीका १६ मोडलका मोटरसाइकल तथा एउटा मोडलको स्कुटर नेपाली बजारमा उपलब्ध रहेको छ ।


