काठमाडौं । भारत सरकारले ल्याएको आर्थिक वर्ष २०२५/०२६ को बजेटले प्रिमियम मोटरसाइकलमा लाग्दै आएको कर घटाएको छ । भारतभन्दा अर्को मुलुकमा उत्पादन भएर भारत भित्रने प्रिमियम मोटरसाइकलमा लाग्दै आएको करमा २० प्रतिशतसम्म कटौती गरिएको हो ।
भारतमा अन्यदेशबाट आयात हुने (सीबीयू) तयारी मोटरसाइकलमा १० प्रतिशत आयात कर कम गरिएको छ । यसअघि तयारी मोटरसाइकल आयातगर्दा लाग्दै आएको ५० प्रतिशत करलाई नयाँ बजेटबाट १० प्रतिशतले घटाएर ४० प्रतिशतमा झारिएको हो ।
त्यस्तै, (एसकेडी) सेमी नकडाउन किटमा र (सीकेडी) कम्प्लीट नकडाउन किट दुबैमा ५/५ प्रतिशत कर घटाइएको हो । यसअघि एसकेडीमा २५ प्रतिशत लाग्दै आएको भन्सार कर ५ प्रतिशतले घटाएर २० प्रतिशतमा झारिएको छ । त्यसैगरी, १५ प्रतिशत लाग्दै आएको सीकेडीमा ५ प्रतिशतले भन्सार घटाएर १० प्रतिशतमा ल्याइएको हो ।
भारतमा आयात हुने १६०० सीसीभन्दा माथिका मोटरसाइकलमा भने सरकारले सबैभन्दा धेरै २० प्रतिशत कर कटौती गरिएको छ । यसअघि लाग्दै आएको ५० प्रतिशत करलाई ३० प्रतिशतमा ल्याइएको छ ।
यसले १६०० सीसीभन्दा माथिको मोटरसाइक खरिद गर्ने ग्राहकले सबैभन्दा धेरै फाइदा पाउने भएका हुन् । भारतमा १६०० सीसीभन्दा माथिका मोटरसाइकल बीएमडब्लू आर १८, ट्रायम्फ रकेट ३, हार्ले फ्याट बोय बब जीता मोटरसाइकल आयात हुँदै आएको छ ।

