काठमाडौं । बीवाइडीले आफ्नो सफल फ्यामली ह्याचव्याक कार पहिलेभन्दा ठूलो साइजमा ल्याउने भएको छ । कम्पनीले अन्तर्राष्ट्रिय बजारमा ठूलो साइजको डल्फीन बिक्री गर्दै आएपनि चीनमा छोटो साइजमा डल्फीन ईभी बिक्री गर्दै आएको थियो ।
चीनमा अहिले बजारमा बिक्री हुँदै आएको डल्फीन ४१५० एमएम लामो छ । नयाँ आउन लागेको मोडल ४२८० एमएम लामो हुनेछ । चिनियाँ सरकार एजेन्सीमा बीवाइडीले बुझाएको बिबरण अनुसार नयाँ डल्फीनको चौडाइ १७७० एमएम र उचाइ १५७० एमएम रहने छ । यसमा २७०० एमएम लामो ह्वीलवेस दिइएको छ ।
नयाँ डल्फीनको अन्य साइज समान रहेपनि लम्बाई भने १३० एमएम बढी भएर आउन लागेको हो । अहिले पनि बीवाइडीले केही अन्तर्राष्ट्रिय बजारमा डल्फीनको लामो मोडल बिक्री गर्दै आएको छ । नेपालमा पनि लामो ४२९० एमएम लामो साइजकै डल्फीन उपलब्ध छ । चीनमा नयाँ आउन लागेको डल्फीन अझै १० एमएम छोटो हुनेछ ।
डल्फीनलाई कम्पनीले तीन फरक मोटरपावरको साथ बजारमा ल्याउने छ । जसमा अहिले नेपालमा पनि बिक्री हुँदै आएको ७० किलोवाटको मोटरले निरन्तरता पाएको छ । साथमा पावर धेरै खोज्नेको लागि १३० र १५० किलोवाटको मोटरमा पनि डल्फीन उपलब्ध हुनेछ ।
ब्याट्रीमा पनि परिवर्तन हुने छैन । यसमा ४४.९३ र ६०.४८ किलोवाट आवरको ब्याट्री अप्सन रहनेछ । यसमा ह्वील पनि १६ र १७ इन्चको दुई अप्सनमा उपलब्ध हुनेछ ।
डिजाइनमा भने कारको पछाडिको भागमा केही परिमार्जन रहने छ । नयाँ डल्फीनको पछाडि र फेन्डरमा भने परिवर्तन गरिएको छ ।


