काठमाडौं । नेपालकै पहिलो आर्क ब्रिजको निर्माण सम्पन्न भएको छ । बिजुलीबजारमा रहेको आर्क ब्रिज नेटवर्कको निर्माण कार्य सम्पन्न भएको हो । निर्माण सम्पन्न भएपनि अत्याधुनिक प्रविधिको यस पुल कहिलेदेखि सञ्चालनमा आउने भन्नेबारे भने टुङ्गो लाग्न सकेको छैन ।
ठेकेदारहरुको ढिलासुस्ती तथा अन्य विभिन्न कारणहरुबाट प्रभावित भएपछि यसको निर्माण प्रक्रिया लम्बिएको थियो । अब भने कामको प्रगति देखिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले बताए ।
बिजुलीबजारमा पुल निर्माणको काम सकिएको छ । अब त्यसमा रङ्गरोगन तथा बत्तिहरु राख्न मात्रै बाँकी रहेको र त्यो काम पनि छिट्टै सकिने उनले जानकारी दिए ।
उपत्यकाभित्रका सडक विस्तारपछि साँघुरो बनेका पुललाई फराकिलो बनाउने योजनाबमोजिम सरकारले बिजुलीबजार र तिनकुनेमा यो पुल निर्माण कार्य अघि बढाएको थियो ।
प्रवक्ता श्रेष्ठका अनुसार, बिजुलीबजारमा पुल निर्माणको काम सकिएको छ । अब त्यसमा रङ्गरोगन तथा बत्तिहरु राख्न मात्रै बाँकी रहेको र त्यो काम पनि छिट्टै सकिने उनले जानकारी दिए ।
५० मिटर लम्बाईमा रहेको बिजुली बजारको यो पुल बनाउने जिम्मा जेई कन्स्ट्रक्सनले लिएको थियो । सरकारले पुल बनाउने निर्णय गरेको झन्डै ५ वर्षमा यो पुल निर्माण सम्पन्न भएको हो । कुल १३ करोड रुपैयाँमा यस पुलको निर्माण गरिएको हो ।
कहिले आउँछ सञ्चालनमा ?
अत्याधुनिक प्रविधिको ‘आर्क नेटवर्क ब्रिज’ निर्माण सम्पन्न भएपनि यो कहिलेदेखि सञ्चालनमा आउँने भन्ने यकिन भने छैन । प्रवक्ता श्रेष्ठले केही समयमै पुलमाथि सवारीसाधन गुड्न सक्ने मेरोअटोलाई बताए ।
उनकाअनुसार, पुललाई सडकसम्म जोड्नका लागि ‘पहुँचमार्ग’ नबन्दा पुलमा सवारीसाधन कहिलेदेखि गुड्ने भन्ने निश्चित नभएको हो ।
आयोजनका प्रवक्ता श्रेष्ठले पहुँचमार्ग निर्माण आयोजनाले गर्ने या सडक विभागले गर्ने भन्ने नै निश्चित नभएको बताउँछन् ।
‘पहुँचमार्ग निर्माणका लागि बजेट विनियोजन नै भएको छैन । पुल बनाउने क्रममा पहुँचमार्ग निर्माणका लागि ठेक्का नै भएको थिएन’ उनले भने ।
हाल पुल र सडकबीच पहुँचमार्ग निर्माण नभएकाले बुद्धनगर भित्रिने र बाहिरिने सवारीले यही बाटो प्रयोग गर्छन् । पहुँचमार्ग निर्माण गर्ने विषयमा बुद्धनगरका स्थानीयसँग छलफल गर्नुपर्ने प्रवक्ता श्रेष्ठ बताउँछन् ।
‘बुद्धनगरका स्थानीयले यो सडक प्रयोग गर्दै आएका छन् । पहुँचमार्ग निर्माण गर्दा यो सडक प्रयोग गर्न सकिँदैन । त्यसकारण पनि यसको तालमेल कसरी गर्ने भन्ने विषयमा स्थानीयको सुझाव आवस्यक पर्छ,’ उनले भने ।
पहुँच मार्ग निर्माण गर्दा बुद्धनगरतर्फ जाने सवारी यहाँबाट जान सक्छन् । नगरबाट आउने सवारीसाधन भने पुलमुनि हुँदै मुख्य सडकमा प्रवेश गर्नुपर्ने हुन्छ ।
तिनकुनेमा पनि धमाधम काम हुँदै
तिनकुनेमा बनिरहेको अर्को आर्क ब्रिज नेटवर्कको काम पनि तिव्र गतिमा भैरहेको छ । आयोजनाका प्रवक्ता श्रेष्ठले अबको साँढे १ वर्ष भित्रमै तिनकुनेको पुल निर्माण सकिने दावी गरे । सार्वजनिक खरिद अनुगमन कार्यालयको निलम्बनमा परेको पप्पु कन्स्ट्रक्सनले पछिल्लो समय कामलाई तीव्रता दिइरहेको छ । ८५ मिटर लम्बाईमा रहेको यो पुल निर्माण सम्पन्न गर्न २१ करोड १३ लाख रुपैयाँमा ठेक्का दिइएको थियो ।

