१५ लाखमै ‘विङ्गो एस’, प्रतिस्पर्धा डल्फिनसँग

काठमाडौं । एसएआइसी, जीएम र विलिङको संयुक्त लगानी रहेको विलिङ ब्राण्डमा नयाँ क्रसओभर एसयूभी देखाएको छ । चीनमा ११ हजार अमेरिकी डलर अर्थात् १५ लाख ३० हजार रुपैयाँ मूल्य तोकेर ‘विङ्गो एस’ क्रसओभर मोडल बिक्री सुरु गर्न लागिएको हो ।

विलिङले ‘विङ्गो एस’ मोडलमा पनि विङ्गो सिरिजको डिजाइनलाई निरन्तरता दिएको देखिन्छ । यो क्रसओभर मोडलमा रेट्रो ट्रङ्गुलर हेडलाइट, ट्रापेजोडियल फ्रन्ट ग्रिल, थ्रु टाइपको टेललाइट दिइएको छ ।

विङ्गो एसमा दुई कलरमा सजिएको बडीसँगै ए, बी र सी पिल्लरमा दिइएको व्ल्याक कलरले डिजाइनमा निकै निखारता आएको देखिन्छ । यसको डोर ह्याण्डल पुरानै डिजाइनमा छ । चार्जिङ पोर्ट भने अगाडिको लेफ्ट फेन्डरमा छ । कम्पनीले विङ्गो एस मोडलमा १६ इन्चको ड्यूल कलर फाइभ स्पोक रिम दिएको छ ।

विङ्गो एसको लम्बाइ ४२६५ एमएम, चौडाइ १७८५ एमएम, उचाइ १६०० एमएम छ । यसमा २६१० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । विलिङले विङ्गो एसमा १०१ हर्सपावर भएको (७५ किलोवाट) क्षमताको मोटर दिएको छ ।

मोटर नेपालमा राम्रै करको दायरामा आउने देखिएपनि अहिलेसम्म कम्पनीले यसमा रहने ब्याट्री साइजको विषयमा जानकारी दिएको छैन । तर, ब्याट्री भने एलएफपी रहने भनेको छ ।

सन् २०२४ मा विलिङको विङ्गो सिरिजका २ लाख ३६ हजार ५७४ कारहरु विक्री भएका थिए । यो संख्या अघिल्लो वर्षको भन्दा ४१ प्रतिशतले धेरै हो । नेपालमा पनि पारामाउन्ट मोटर्सले विलिङका कारहरु बिक्री गर्दै आएको छ ।

मूल्यका हिसावले नेपालमा बीवाइडी डल्फिन र आउँदै गरेको प्रोटोन इमास-५ सँग यसको प्रतिस्पर्धा हुनेछ ।


Back_to_top