काठमाडाैं । वीरगंज महानगरपालिकामा साईकल चढेर जाँदै हुनुहुन्छ ? अब महानगरपालिकाले तपाँर्इकाे साईकल पार्किङ गरेवापत पनि पार्किङ शुुल्क लगाउने भएको छ । नेपालमा हालसम्म कतै कुनै नगरपालिकाले नलगाएको शुल्क वीरगंजले उठाउने भएको हो । वीरगंज महानगरपालिकाले सहरी क्षेत्रमा साईकल पार्क गरेवापत प्रतिदिन ५ रुपैयाँ पार्किङ शुल्क उठाउने भएको हो । महानगरपालिकाको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन २०७५ मार्फत महानगरपालिकाले साइकलमा पार्किङ शुल्क लिने सुचना जारी गरेको छ ।
‘स्वस्थ सुन्दर विकासको नगर वीरगंज शहर’ नारा रहेको वीरगंज महानगरपालिकाले नेपाल जस्तो मुलुकमा गरिब तथा श्रमीकवर्गले चढ्ने साईकलको पार्किङ शुल्क तोकेर नगरमा साईकलको आवागमनलाई निरुत्साहित गरेको हो । वीरगंजलगायत नेपालको तराई क्षेत्रमा साईकललाई नियमित सवारी साधनको रुपमा अत्याधिक प्रयोग गर्ने गरिएको छ भने विद्यार्थीहरु समेत साईकलमै स्कुल कलेज जाने गर्छन ।
तर वीरगंजले भने सडक पार्किङ शुल्कको नाममा सर्वसाधारणसँग साईकल पार्किङ गरेबापतमा कर असुल गर्ने भएको हो । महानगरपालिकाले चालु आर्थिक वर्षदेखि करबापत साइकलमा पार्किङ शुल्क उठाउन लागेको हो ।
साईकललाई विश्वमा सबैभन्दा सफा यातायातको साधनको रुपमा लिइन्छ । यसले वातावरणलाई हानी नोक्सानी पूर्याउने कुनै प्रकारको प्रदुषण नगर्ने भएकोले विश्वका विकसित देशका नगरहरुमा साईकललाई विशेष प्रोत्साहन दिन छुट्टै साईकल लेन समेत छुट्याइएको हुन्छ । साईकल चढ्नाले स्वास्थ्य पनि राम्रोहुने तथा वातावरणलाई पनि केहि प्रभाव नपार्ने भएकोले जापान, फिनल्याण्ड, नर्वे, स्वीडेन तथा डेनमार्क जस्ता देशमा साईकलको प्रयोग अत्याधिक हुने गरेको छ ।
अझ नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटे त झन आफ्नो नियमित कार्यमा जाँदा साईकल नै सवारी साधनको रुपमा प्रयोग गर्ने गर्छन । केहि समयअघि उनी राजालाई भेट्न जाँदा पनि साईकलमा नै गएको फोटो विश्वभर निकै चर्चित भएको थियो । १ करोड ६० लाख जनसंख्या भएको नेदरल्याण्डमा १ करोड ८० लाख त साईकल नै रहेको तथ्याङ्क सार्वजनिक भएको थियो ।

