वीरगञ्ज सुक्खाबन्दरगाह संचालनको ठेक्का भारतीय कम्पनीलाई

काठमाडौं । वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह (इन्ल्यान्ड क्लियरेन्स डिपो)को व्यवस्थापन र संचालनको ठेक्का भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।

प्रिस्टिन मेगा लजिष्टिकले ५ वर्षका लागि वीरगञ्ज सुक्खाबन्दरगाह संचालन र व्यवस्थापनको ठेक्का पाएको हो ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार प्रिस्टिन मेगा लजिष्टिक पार्कले ४ अर्ब ७१ करोड रुपैयाँमा बन्दरगाह संचालनको ठेक्का पाएको हो ।

समितिका अनुसार सुक्खाबन्दरगाहको व्यवस्थापन र संचालनका लागि आह्वान गरेको बोलपत्रको प्राविधिक मूल्याङ्कनमा कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेड र प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालि छनोट भएका थिए ।

कन्टेनर कर्पोरेसन अफ इन्डिया प्रालिले भने ४ अर्ब ५१ करोड रुपैयाँ रकमको बोलकबोल गरेको थियो । समितिका अनुसार छनोट भएको कम्पनीसँग ठेक्का सम्झौता भएपछि आगामी साउनदेखि ५ वर्षसम्म सुक्खाबन्दरगाहको व्यवस्थापन र संचालनको काम गर्न पाउनेछ । यसअघि पनि सोही कम्पनीले ३ अर्ब ३३ करोड रुपैयाँ ५ वर्षका लागि सुक्खाबन्दरगाह व्यवस्थापन र संचालनको ठेक्का प्राप्त गरेको थियो ।

वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह ५७ बिघा क्षेत्रफलमा अवस्थित छ । यस बन्दरगाहमा कार्गो रेलबाट मात्रै मालसमान ल्याउने गरिन्छ । यो सन् २००० मा विश्व बैंकको ऋण सहयोगमा ८२ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो ।

भारत सरकारको २० करोड रुपैयाँ लागतमा रक्सौलदेखि बन्दरगाहसम्म रेल लिङ्क निर्माण गरिएको छ ।


Back_to_top