बीवाइडीको ब्लेड २.० ब्याट्रीको प्रयोग सुरू, रेन्ज १००६ किमी

काठमाडौं । चिनियाँ इलेक्ट्रीक मोविलिटी जाइन्ट बीवाइडीले आफ्नो नयाँ जेनेरेशन ब्लेड ब्याट्रीको प्रयोग थाल्ने भएको छ । कम्पनीले ब्लेड २.० नाम दिएको उक्त ब्याट्री ‘याङवाङ यू सेभेन’ मोडलमा प्रयोग थाल्ने भएको हो ।

नयाँ जेनेरेशन ब्लेड ब्याट्रीको प्रयोग भएको कारण याङवाङ यू सेभेन मोडलले सिंगल चार्जमा १००६ किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ ।

याङवाङका सेल्स डिभिजनका महाप्रबन्धक हु सियाओकिङ नयाँ ब्याट्रीको प्रयोग यू सेभेन मोडलमा भएको र यसलाई निकै महत्वपूर्ण उपलब्धी मान्नु पर्ने बताएका छन् ।

‘याङवाङ यू सेभेनमा प्रयोग भएको दोस्रो पुस्ताको ब्लेड ब्याट्री र गाडीमा प्रयोग भएको सुपर क्वाड मोटर्सले रेन्जमा नयाँ गन्तब्य हासिल गरेको छ’ महाप्रबन्धक हुले भने ।

यति धेरै रेन्ज प्रदान गर्ने गाडीमा कुन साइजको ब्याट्री प्रयोग भएको होला भन्ने जिज्ञासा तपाईको मनमा आयो होला । कम्पनीले याङवाङ यू सेभेनमा १५० किलोवाट आवरको ब्याट्री दिएको छ । यसको चार्जिङ क्षमता पनि निकै असाधारण मानिएको छ । सम्भवत १५०० किलोवाट क्षमताको डिसी चार्जर यसले सपोर्ट गर्नेछ ।

यसको विषयमा थप जानकारी भोलि अप्रिल ५ तारिखमा कम्पनीले बाहिर ल्याउने जनाएको छ ।


Back_to_top