काठमाडौं । फ्रेन्च कार निर्माता रेनोले चार मिटरभन्दा छोटो साइजको बक्सी डिजाइन एसयूभीको टिजर सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारलाई ध्यानमा राख्दै ल्याउन लागेको एसयूभीको नाम ‘ब्रिजर कन्सेप्ट’ भनेर देखाएको हो ।
बाहिर आएको तस्बिरमा पुरै गाडी देखिदैन । तर, बक्सी डिजाइन र पछाडि ढोकामा स्पेयर टायर राखेको भने प्रस्टै देखिन्छ । झट्ट टिजर हेर्दा ल्याण्ड रोभर डिफेन्डरको झल्को आउँछ ।
रेनोले नयाँ एसयूभी अफरोडभन्दा सहरी यात्राको लागि तयार पारिएको जनाएको छ । कम्पनीका अनुसार चार मिटरभन्दा छोटो साइजमा आउने एसयूभीमा भित्र भने प्रसस्तै स्थान रहने जनाइएको छ ।
यसअघि नै बेबी डस्टरको तयारीमा रेनो रहेको समाचारहरु आएका थिए । कम्पनीले नयाँ जेनेरेशन डस्टर भारतमा प्रदर्शनी गर्दा नै नयाँ चार मिटरभन्दा छोटो एसयूभी आउने संकेत दिएको थियो ।
रेनोले युरोप बाहिर ३ अर्ब युरो लगानी गर्दै आफ्नो उत्पादन बढाउने योजना इन्भेस्टर मिटमा सुनाएको थियो । त्यसैको हिस्सा स्वरुप नयाँ मोडल भारतमा उत्पादन गर्दै निर्यात समेत गर्न लागेको बताइन्छ ।
रेनोले आफ्नो नयाँ बक्सी एसयूभीमा १.० लिटर टर्बो पेट्रोल इन्जिन दिन सक्ने बताइएको छ । रेनो काइगरमा पनि उपलब्ध उक्त इन्जिन १०० पीएस पावर प्रदान गर्ने क्षमता राख्छ । यसमा म्यानुअल र सीभीटी गियरबक्स रहने छ ।
रेनोले भारतमा यही महिनाबाट बिक्री थाल्न लागेको नयाँ जेनेरेशन डस्टर एसयूभी फोर ह्वील ड्राइभमा पनि उपलब्ध हुनेछ । नेपाली बजारमा एड्भान्स अटोमोबाइल्सले रेनो डस्टर ल्याउने छ ।
नयाँ सब फोर मिटर एसयूभी पनि बक्सी डिजाइनमा भएको कारण नेपाली बजारको लागि पनि निकै चासोको मोडल बन्न सक्छ ।

