काठमाडौं । अहिले बजारमा चलिरहेको एसयूभीभन्दा विल्कुलै फरक डिजाइनमा ओरा फाइभ एसयूभी उपलब्ध हुने भएको छ ।
कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउने ओरा फाइभ मूल्यको हिसावले पनि उपयुक्त मोडल बन्ने बुझिएको छ । नेपाली उपभोक्तालाई नयाँ ‘टेस्ट’ प्रदान गर्न ग्रेटवाल मोटर्सको ‘ओरा फाइभ’ सफल हुने बताइन्छ ।
भिजी इम्पेक्स प्रालिले मार्च महिनामै यसलाई नेपालमा सार्वजनिक गर्नेछ । ग्रेटवाल मोटर्सको न्यू इनर्जी ब्राण्ड ओरामा यसअघि ओरा थ्री मोडल उपलब्ध थियो । ओरा थ्री ह्याचब्याक कार हो भने नयाँ ओरा फाइभ भने एसयूभी हो ।
अहिले नेपाली बजारमा कम्प्याक्ट एसयूभी सेग्मेन्टमा बीवाइडी एटो टु र एटो थ्री, एमजी एस फाइभ, ओमोडा ई फाइभ, लीपमोटर बी-१०, दीपल एस-०५, हुन्डाई क्रेटा ईभी, महिन्द्रा बीई सिक्स र टाटा कर्भ ईभी उपलब्ध छन् । यी मोडलको तुलनामा ओरा फाइभ सस्तो हुनेछ ।
विद्युतीय गाडी भन्ने बित्तिकै ब्याट्री साइज, त्यसले दिने रेन्ज र सरकारले लगाउने कर पावरमा आधारित भएको कारण मोटर कत्रो छ भन्ने प्रश्न आउँछ ।
जीडब्लूएमले ओरा फाइभमा एसभोल्टले उत्पादन गरेको ५८.३ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ । उक्त ब्याट्रीले नेपाली सडकमा ४३० किलोमिटर हाराहारी रेन्ज दिन सक्ने हाम्रो अनुमान छ । यसमा ९९ किलोवाटको इलेक्ट्रीक मोटर रहनेछ ।
अहिले बजारमा उपलब्ध ओरा थ्री ह्याचब्याकभन्दा निकै प्रिमियम क्याबिन ओरा फाइभमा पाउन सकिनेछ । कम्पनीले यसमा आफ्नो ‘कफी इन्टरटेन्टमेन्ट सिस्टम’ दिएको छ ।
प्रिमियम ड्यासबोर्ड उपलब्ध ओरा फाइभमा टु स्पोक स्टेयरिङ ह्वील, पानारोमिक ग्लास रुफ, मल्टी कलर एम्बियन्ट लाइट, वायरलेस चार्जर दिएको छ । निकै प्रिमियम फिल दिन सक्षम एसयूभीको सिट पनि निकै आरामदायी रहेको कम्पनीको दाबी छ ।

ग्रेटवाल मोटर्सले ओरा फाइभको लम्बाइ ४४७१ एमएम, चौडाइ १८८३ एमएम र उचाइ १६४१ एमएम छ । यसमा २७२० एमएम लामो ह्वीलबेस दिइएको कारण लग्जरी यात्रा गर्न पाइन्छ ।
ओरा फाइभमा १८ इन्चको अलोय ह्वील दिइएको छ । अगाडि सर्कुलर हेडलाइट र पछाडि एलईडी टेल लाइट छ । छतमा लाइडार दिइएको छ ।
रेगुलर एसयूभीको तुलनामा पृथक बडी डिजाइन र धेरै हदसम्म ओरा थ्रीबाट प्रेरित पछाडिको डिजाइनले धेरैको ध्यान खिच्नेछ । स्टाइलिस फिनिसको अलोय ह्वील र कन्भेन्सनल डोर ह्याण्डल प्रयोग भएको कारमा पछाडि स्मार्ट स्पोइलर पाउन सकिन्छ ।

