काठमाडौं । बिएमडब्ल्यु मोटोराडको भारतमा उत्पादन भएको बाइक नेपाली बजारमा बुकिङ खुल्ला भएको छ । उक्त बाइकको नेपालको लागि आधिकारीक वितरक टर्बो मोटरले बुकिङ खुल्ला गरेको हो ।
सुरुमा कम्पनीले भारतमा उत्पादन र बिक्री हुँदै आएको जी ३१० जीएस र जी ३१० आर दुई मोडलको बिक्री खुल्ला गरेको हो ।
कम्पनी मोटर साईकलको कलर अनुसारको मूल्य निर्धारण गरेको छ । कम्पनीको सबैभन्दा सस्तो मूल्य जी ३१० आर मोडलको रातो कलरको बाइकको राखेको छ । रातो र कालो कलरको बाइकको मूल्य ९ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
त्यसैगरी सेतो कलरको मूल्य भने २५ हजार रुपौयाँ बढी कायम गर्दै ९ लाख ७५ हजार रहेको कम्पनीले जनाएको छ ।
जी ३१० जीएस भने आर मोडलको तुलनामा केही महंगो रहेको छ । कम्पनीले यसमापनि कलर अनुसार नै मूल्य निर्धारण गरेको छ । रातो र कालो कलरको १० लाख ९० हजार मूल्य राखेको कम्पनीले सेतो कलरको बाइकमा भने २५ हजार बढी राख्दै ११ लाख १५ हजार निर्धारण गरेको छ ।
अहिले बाइक बुकिङ गर्न चाहनेले एक लाख रुपैयाँ तिरेर बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । अहिले बाइकको नेपालको बिभिन्न भागमा परिक्षण गर्ने कार्य भइरहेको कम्पनी स्रोतले जानकारी दिएको छ ।

