बीएमडब्ल्यू G-310R बाइकको भारतमा उच्चमाग, के नेपाल आउला ?

काठमाडौं । बीएमडब्ल्यू ‘जी ३१० आर’ बाइकले विश्व बजारमा निकै चर्चा कमाइरहेको छ । भारतीय मोटर कम्पनी टिभिएससँगको सहकार्यमा जर्मन कम्पनी बीएमडब्ल्यूले उत्पादन गरेको यो बाइक भारतमा उत्पादन भएको बीएमडब्लुको पहिलो बाइक हो । जसको कन्सेप्टलाई कम्पनीले पहिलो पटक नोभेम्बर २०१५मा पेश गरिएको थियो ।

बीएमडब्ल्यूले भारतको चेन्नाई स्थित टिभिएसको होसुर बेस्ड प्लान्टमा यो मोटरसाइकलको उत्पादन गरेको हो । केही समय अगाडि ५० हजार भारुमा बुकिङ खोलेको यो मोटर साइकललाई कम्पनीले सार्वजनिक गरेको छ ।

भारतमा उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा समेत पठाउने तयारी गरिएको यो बाइक बीएमडब्ल्युको सबैभन्दा सस्तो वाइक भएको छ ।

डिजाइन

बीएमडब्ल्यू G310Rकाे लम्बाई–१ हजार ९ सय ८८ मिलिमीटर र उचाइ– १ हजार २ सय २७ मिलिमिटर रहेको छ भने यसको ह्वीलबेस १ हजार ३ सय ७४ मिलिमिटर रहेको छ । ११ लिटरको फ्यूल ट्यांक जडान गरिएको यो बाइकको सीटको उचाई ७ सय ८५ मिलिमीटर रहेको छ ।

फिचर

बीएमडब्ल्यू टिभिएस G310Rले सिंगल– स्क्रीन, डिजिटल इन्स्टुमेन्ट कन्सोलको प्रयोग गर्छ जसलाई ‘पेन्टागनल विन्डशील्ड’ले ढाकिएको छ । यसमा टेकोमिटर, स्पीडोमीटर, रेडलाइन सूचक, ओडोमिटर र ट्राभल मिटर जस्ता आवश्यक कुराहरुको जानकारी दिने उपकरण जडान भएका छन् ।

इन्जिन

यो मोटरसाइकलमा ३ सय १३ सीसीको डिसप्लसमेन्ट, सिंगल–सिलिन्डर, लिक्विड–कूल्ड र फ्यूल इन्जेक्टेड इन्जिन प्रयोग गरिएको छ । यसले ९ हजार ५ सय आरपीएममा ३४ ब्रेक होर्स पावर र ७ हजार ५ सय आरपीएममा २८ न्यूटन मिटर टर्क उत्पादन गर्छ । यो मोटरसाइकलमा प्रयोग गरिएको गियरबक्स ६–स्पिड म्यानुयल रहेको छ भने कम्पनीको अनुसार यसको टप स्पिड १४३ किलोमिटर प्रति घन्टा रहेको छ ।

यसले ० बाट ५० किलोमिटरको स्पीड समाउन २.५ सेकेन्ड लगाउने छ ।

माइलेज

१ सय ५८.५ किलोग्रामको वजन रहेको यो बाइकले ३०.३ किलोमिटर प्रति लिटरको  माइलेज दिन्छ ।

सुरक्षा

यस नयाँ मोटरसाइकलले अगाडिको ब्रेकमा, ४–पिस्टन क्यालिपरको साथ ३ सय मिलिमिटरको सिंगल–डिस्क ब्रेकको प्रयोग गरेको छ । पछाडिको ब्रेकमा भने १–पिस्टन क्यालिपरको साथ २ सय ४० मिलिमिटरको सिंगल–डिस्क ब्रेकको प्रयोग गरेको छ । 

कलर भेरिएन्ट

यस बीएमडब्ल्यू G310R भिन्न रंगहरुमा उपलब्ध हुने छ । स्ट्रेटो ब्लू मेटलिक, कज्मिक बल्याक र पर्ल ह्वाइट मेटलिकमा प्रस्तुत गरिएको छ ।

मूल्य

यो मोटरसाइकलको मूल्य भारतीय बजारमा २ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यदी यो बाइक नेपाली बजारमा आउने हो भने यसको मूल्य करिब १० लाख रुपैयाँ हाराहारी पर्ने अनुमान लगाउन सकिन्छ ।

टिभिएस कम्पनीको उपस्थिति नेपाली बजारमा रहेकाले यो बाइकले नेपाली बजारमा प्रबेश गर्ने अनुमानसमेत लगाउन सकिन्छ । टिभिएसको नेपाली बजारको बिक्रेता बाहेक अन्य ब्यवसायीक घराना पनि यो बाइक नेपालमा ल्याउन लागि परेको बुझनमा आएको छ ।


Back_to_top